
बीबीसी । ब्राजिलको जेलमा रहेका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अर्को महिना हुने चुनावमार्फत सत्तामा फर्कने आफ्नो प्रयास त्यागेका छन्। वर्कर्स पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वारमा अब उनको ठाउँमा फर्नान्डो अडाड उठ्ने छन्।
वर्कर्स पार्टीका एकजना नेताले उक्त निर्णय प्रहरी मुख्यालयबाहिर घोषणा गरेका थिए, जहाँ ७२ वर्षीय पूर्व राष्ट्रपति लुला डा सिल्भाले आफूमाथिको जेल सजाय भोगिरहेका छन्।
उनी रहेको जेलबाहिर उनका समर्थकमाझ पढेर सुनाइएको पत्रमा ब्राजिलमा सामाजिक न्यायको लडाइँका लागि उनको प्रतिनिधित्व चुनावमा अडाडले गर्ने बताइएको थियो।
उक्त पत्रमा पूर्व राष्ट्रपति जसले सन् २००३ को ज्यानुअरीदेखि सन् २०१० को डिसेम्बरसम्म शासन गरेका थिए उनले आउँदो अक्टोबर महिनामा हुने चुनावमा भाग नलिने बताएका छन्।
चुनावी अभियानका लागि वर्कर्स पार्टीले अडाड नै लुला हुन् भन्ने नारा समेत बनाएको छ। सिल्भाले चुनावबाट पछि हट्न गरेको यो निर्णय लामो कानूनी लडाईँ पश्चात् आएको हो।