२६ भाद्र २०७५, मंगलवार

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा टुङ्गीनुको साटो झन झन जेलिएको छ । लापरवाहीको हद भयो, यो त । पहिला २४ दिनपछि दिलिपसिंह बिष्टलाई बलात्कारी हत्यारा घोषित गरेर प्रहरीले सार्वनजनिक ग¥यो ।

एउटा मानसिक सन्तुलन ठीक नभएको मान्छेलाई जवरजस्ती अपराधी बनाएर सार्वजनिक गर्ने मान्छे को हो ? कञ्चनपुरका जनताले यसै आन्दोलन गरेका होइनन् । बाटो हिड्ने कुनै पनि सीधा सादा मान्छेलाई दुई झापड लगाएर अपराधी बनाएर खडा गरिदिने ?
आज डिएनए नमिलेपछि दिलिप बिष्ट साधारण तारिकमा धर गाउँका छन्, तर उनलाई अपराधी बनाएर सार्वजनिक गर्नु भन्दा अगाडि डिएनए टेष्ट जस्तो मामुली काम गर्न नसक्नेहरु निकम्मा होइनन् बलात्कारीलाई जोगाउने मतियार हुन् ।

आज अदालतले दिलिपलाई घर पठाएपछि दिलिपलाई जबरजस्ती, तर्साएर, धम्क्याएर, शायद चरम यातना दिएर पापको भारी बोकाउनेहरुको को को हुन् ? तिनलाई घरमै टिभी हेरेर बस्न दिने कि काल कोठरीमा हाल्ने ? गोहीको आशु चुहाउने नीति निर्माताहरु फेसबुकमा फोटो हाल्न र न्युजको हेडलाइन बन्न निर्मलाको घरमा गइका होइनन् भने यस बिषयमा बोल्नु प¥यो ।

न्याय दिलाएरै छाड्छु भनेर कुर्लने मन्त्री, सांसदहरु आज तपाईहरु चुइक्क बोलेको सुनिन । तपाइको घाँटी सुकेको कि हाम्र्रो कान फुटेको । निर्मलाको हत्यारालाई अर्कै ग्रहबाट भएपनि पक्रेर ल्याउँछौ भन्नेहरु पनि थिए, तिनलाई खोज्न अन्तरिक्षमा नै जानु पर्ने भएको हो ?

एउटी १२÷१३ वर्षकी छोरीको बलात्कारपछि विभत्स हत्या हुन्छ । २४ दिनसम्म प्रहरी दोष लगगाइदिन सकिने मान्छे खोज्छ । निर्दोषीलाई दोषीको भारी बोकाउन गरेको कसरत दोषी खोज्न गरेको भए अपाराधी पत्ता लाग्थ्यो । तर प्रहरीले त्यसो गरेन ।
कोही प्रमाण नष्ट गर्ने, कोही ढाकछोप गर्ने, कोही जवरजस्ती नक्कली अपराधी खडा गरेर सार्वजनिक गर्ने । यहि हो न्याय, यहि हो अनुशन्धान । ज्यादतीको हद सुनेर सुतिनसक्नुको छ । छोरीको बलात्कारपछि हत्या गरिएपछि ती छोरीको बाबु कति विछिप्त हुन्छन् होला ।

त्यस्तो अवस्थामा न्यायका लागि याचना गर्दा उल्टो निर्मलाको बुवालाई थर्काउदै र हप्काउँदै तत्कालीन एसपी डिल्ली राज बिष्टले भनेछन्, धेरै बोल्यौ भने आफ्नै छोरीको बलात्कारको आरोपमा भित्र हालिदिन्थे, तिमी भारतमा भएर बच्यौ, आफ्नै बाबुले, हजुरवाले बलात्कार गरेको सुनेका छौ ? छोरी बलात्कारमा मरेर निर्मम हत्या भएको केशमा न्याय माग्न जाँदा एउटा घाइते बिवश र विक्षिप्त बाबुले यस्तो विष बचन सुन्नु पर्दा ती बाबुको हृदय कति ठाँउमा चिरा प¥यो होला ?

नगरेको पापको भारी बोकेर आँफु बलात्कारी र हत्यारा हु भन्ने लेखिएको झुठो बयान दिनु पर्दा र त्यसमा सही छाप लगाउनु पर्दा, दिलिप सिंह बिष्टको यसै पनि खलबलिएको मगजले कसरी काम ग¥यो होला ?

एउटा अपराधी बचाउन कतिसम्मको घिनलाग्दो खेल खेलिएको हो यो ? धेरै लामो कुरा केही छैन कि त प्रहरीले हामीले पत्ता लगाउन सकेनौँ भनेर माफी माग्नु प¥यो र त्यसमा को को ले नसक्ने हुन ती सबले राजीनामा दिनु प¥यो ।

होइन भने जवरजस्ती अपारधी बनाउनेहरुलाइ्र्र अहिल घरघरमा बसेर टिभी हेर्दा हेर्दै गिरफ्तार गर्नु प¥यो । जनता मारेर अपराधी जोगाउन कहाँ पाईन्छ ? त्यसमाथी छानबिन समितिका सदस्य विरेन्द्र केसीले आफ्नो ज्यान जान सक्छ भनेर राजीनामा दिएका छन् र यससँगै आफ्नो जिवन रक्षाको लागि अपिल गरका छन् ।

छानविन समीतिका सदस्यको ज्यान सुरक्षित छैन भनेर राज्यले ठुलो स्वरले भन्नु पर्छ होला नी । मैले मात्र नसुुनेको भए क्षमा गर्नुहोला खतरा भएकाले राजीनामा दिन बाध्य भए भन्नुले घटनाको रहस्य र धेरैको नियत सतहमा ल्याइ दिएको छ ।

स्मरण रहोस देशका प्रहरी प्रमुखले आफ्नै मुखले निर्मलाको हत्यारालाई समातेरै छोड्छौ भनेका छन् । यत्रो नाटक मञ्चन भैरहँदा तपाई हामी त वास्तविक अपराधी समातिन दिन यति व्यग्रताको साथ कुरिरहेका छौं, भने स्वयंम निर्मलालाई जन्माउने आमा बाबु कति व्यग्रताका साथ प्रतिक्षा गरिरहेका होला ।

९ महिना गर्भमा राखेर १० धारा दुध पिलाएर हुर्काएकी छोरीलाई बलात्कार गरेर हत्या गर्ने पापीलाई समातेर जेल हालिदेउ न भनेकी मात्रै हुन् निर्मलाकी आमाले, अरु केही मागेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV