२६ भाद्र २०७५, मंगलवार
  • उत्तर बिष्ट,

डडेल्धुरा, २६ भदौ । १३ वर्षीय निर्मला पन्त हत्या प्रकरणले शक्तिकेन्द्रको निन्द्रा हराम गरेको छ । एउटी बालिकाको बलात्कारपछि हत्या भएको एक महिना वितिसक्दा पनि पन्त परिवारले न्याय नपाउँदा कानूनी राज्यको उपहास भएको छ । पीडा उनको परिवारमा मात्र होइन, सिंगो नेपाल अझ सुदुरपश्चिम त आँशुमा डुबेको छ । सुदुरपश्चिमका जनता देउडा मार्फत पनि सरकारलाई झक्झकाउँदै छन् ।

‘निर्मलालाई न्याय दिन काठमाडौं जाउँ’ देउडाको यो भाका कम पीडादायी छैन । आफ्ना छोरीचेलीको पीडा सिंहदरवारले किन सुन्दैन । गीत अन्तराले राज्यलाई प्रश्न सोध्दैछ । शक्तिको उन्मादमा अल्झिएका शासक वर्गको ध्यान कहिले पुग्ला पीडा पोख्दैछन्, डडेल्धुराका यी नागरिक ।

परम्परागत भेषभुषामा सजिएर देउडाको महत्वलाई झल्काउँदै नृत्य प्रस्तुत भएपनि निर्मला पन्तको परिवारले भोगेका दुःखलाई प्रकट गर्न डडेल्धुराका यी नागरिक तल्लिन छन् । सुनिएन, कञ्चनपुरको आवज, अनि सुनिएन सुदुरपश्चिमको माग । त्यसैले होला उनीहरु गीत मार्फत भन्छन्, ‘निर्मलालाई न्याय दिन काठमाडौं जाउँ’ । देउडा भाका गाउँदै देउडियाले निर्मलाका परिवारलाई न्याय दिन सरकार किन मौन ? प्रश्न यतिमा मात्र सिमित छैन । दोषीलाई कारवाही गर सरकार उनीहरु यही भन्दैछन् ।

पहुँचले जघन्य अपराध पनि छायाँ पार्दै गरेको तथ्य घटनाका अनुसन्धानहरुमा देखिएका क्रिया प्रतिक्रियाहरुले प्रष्ट्याउँदैछ । संघीय सरकारको गृहमन्त्रालयले गठन गरेको छानविन समितिका एक सदस्यले दिएको राजीनामाले अझै रहस्यलाई छोप्दै गएको छ ।

के सरकार आफ्ना नागरिकको सुरक्षाका लागि जिम्मेवार छैन ? प्रदर्शन मात्र होइन देउडा मार्फत समेत नागरिकले उठाएको आवाजले सरकारप्रतिको विश्वासलाई गुमाउँदै गएको छ । देश दख्दैछ, सरकार अब निर्मलाहरु यसैगरी अन्यायमा नपरुन । कानूनी राज स्थापित होस् र आम नागरिकले सुरक्षित महसुश गर्न सकुन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV