२६ भाद्र २०७५, मंगलवार

काठमाडौं, २६ भदौ । घडेरी कीर्ते गरेर बेचबिखन गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका ४ जना कर्मचारी पक्राउ परेका छन् । मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नासु रघुनाथ तिमल्सिना, रञ्जन कुमार खरेल र जमुना कुमारी श्रेष्ठलाई ललितपुरका चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको करोडौं मूल्य पर्ने घडेरी कीर्ते गरेर बेचबिखन गरेको आरोपमा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लका अनुसार कायस्थको जग्गा किन्ने श्रीकृष्ण देवकोटा र ध्रुबप्रसाद भट्टराई तथा जग्गाको वारेसनामा लिने प्रदीप गौतमलाई हिरासतमा थिए ।

यी ४ जना मालपोतका कर्मचारीको मिलेमतोमा ललितपुरको हात्तीवन बस्ने चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ स्थित २ रोपनी ८ आना जग्गा कीर्ते गरी बेचबिखन भएको थियो । जानकारीमा आए अनुसार जग्गा बिक्री गर्ने गिरोहले उक्त जग्गा ६ करोड रुपैयाँमा बेचेको बताइएको छ ।

अधिकृतसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV