२५ भाद्र २०७५, सोमबार

दमौली, २५ भदौ :नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले सङ्घर्षले मानिसलाई गतिशील बनाउने बताउनुभएको छ ।

हरितालिका तीजका अवसरमा अनेमसङ्घ र अनेमसङ्घ क्रान्तिकारीद्वारा संयुक्त रुपमा यहाँ आज आयोजित ‘नेतृत्व विकास, महिला अधिकार र तीजको सान्दर्भिकता’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले आफूले कम्लरी हुँदाको अवस्थामा अन्याय र अत्याचार सहेकै कारण धेरै कुरा सिक्ने प्रेरणा जागेको बताउनुभयो ।

“मानिसले जन्मेदेखि नै हरेक कुरामा सङ्घर्ष गर्नुपर्छ,” उहाँले भन्नुभयो, “सङ्घर्षसँग जुध्न सक्ने मानिस नै सफल हुन्छ ।”

सचेतक चौधरीले महिला भएकै कारण केही गर्न सकिएन भन्ने मानसिकता त्याग्नुपर्नेमा जोड दिदैं तीजलाई भड्किलोरहित बनाउनुपर्ने बताउनुभयो ।

महिला हिंसा गर्नेमाथि कडा कारवाही हुनुपर्ने र त्यसका लागि सरकार गम्भीर भएर लागेको पनि उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले नेपालको हरेक आन्दोलनमा महिलाको भूमिका अग्रणी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV