२५ भाद्र २०७५, सोमबार

काठमाडौं, २५ भदौ । श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज¸ सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पुर्याउनका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System : FEIMS) को सुरुवात गर्न लागेको छ । यसका साथै वैदेशिक रोजगारीसँग सम्वन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोवाइल एप्लिकेशन समेत निर्माण गरी संचालनमा ल्याएको छ ।

यो प्रणालीमा अध्यागमन विभाग¸ पासपोर्ट विभाग¸ कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरु¸ वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक¸ वीमा कम्पनी¸ सीप तथा तालिम प्रदायक संस्था¸ गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् ।

सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज¸ सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरु समक्ष पुर्याई वैदेशिक रोजगारलाई सुरक्षित¸ व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको हो । यसले वैदेशिक रोजगारीको क्षेत्रमा पुर्याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी, पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुराउनेछ ।

यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्नेछ । यस प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक उपलब्ध हुनेछ । यस प्रणालीका कारण अनुगमन प्रणाली प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्नेछ । साथै यसबाट प्राप्त अनुभवबाट आगामी दिनमा यस क्षेत्रको नीति तथा कार्यक्रमको तर्जुमा गर्न समेत सहयोग पुग्नेछ ।

यसका साथै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEMIS) का सूचना एवं सेवा मोवाइल एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । हाललाई एन्ड्रोइड प्रणालीमा आधारित यस मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको छ ।

यस सूचना प्रणालीलाई २०७५ असोज १ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रुपमा लागू गरिनेछ ।

 

 

 

LIVE TV