२५ भाद्र २०७५, सोमबार

रामेछाप, २५ भदौ । सामुदायिक विद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या शुन्य हुँदै गएपछि अभिभावक र विद्यार्थीहरुलाई आकर्षित पार्ने उद्धेश्यले मन्थली नगरपालिका वडा नं–६ भलुवाजोर स्थित कुनौरी र हात्तिटार माझी वस्तीमा रहेका सामुदायिक विद्यालयहरुले चालू शैक्षिक सत्रबाट अंगे्रजी माध्ययममा पढाई सुरु गरेपछि एकाएक विद्यार्थीको संख्यामा बृद्धि भएको छ ।

निर्वाचित जनप्रतिनिधि आएपछि शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले वडा नं–६ भलुवाजोरको पहलमा चालू शैक्षिक सत्रबाट वडा भित्रका सवै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्ययमबाट पढाई सुरु गरिएपछि विद्यार्थी संख्यामा बृद्धि भएको हो । त्यसमा पनि कुनाउरीको श्री पन्चकन्या आधारभुत विद्यालय र हात्तिटारमा रहेको सिद्धेश्वर आधारभुत विद्यालयमा अध्ययनरत अधिकासं माझी समुदायका वालवालीकाहरु मात्र अध्ययन गर्दै आएका छन् । ती विद्यालयमा पनि अंग्रेजी माध्यमवाट पढाई शुरुभएपछि अभिभावकहरु खुसी भएको स्थानीय अभिभाबक बुद्ध माझीले बताए ।

अंग्रेजी माध्यमवाट गाउँमै पढाई हुँदा निजी विद्यालयमा गएका बालिबालिकाहरु समेत गाउँकै विद्यालयमा फर्किएको सिद्धेश्वर आधारभुत विद्यालयका प्रधानाध्यापक केदार प्रसाद प्रसाईले जानकारी दिए । उनले भने– नगरपालिकाले अहिले शिशु कक्षा देखी ८ कक्षासम्म अनिवार्य रुपमा अंग्रेजी विषयमा पढाई गर्न निर्देशन दिएको भएता पनि आफ्नो विद्यालयमा अंग्रेजी विषयका शिक्षकको खडेरी परेका कारण यस वर्ष शिशु कक्षा देखी संचालन गरेको र आगामी वर्षवाट माथिका कक्षाहरुमा समेत संचालन गर्ने बताए ।

सदरमुकाममा खोलिएका निजि विद्यालयहरुमा अंग्रेजी माध्यमवाट पढाई भएपछि अंग्रेजी विषयमा अभिभावकहरुको आर्कषण बढ्दै जाँदा गाउँका सरकारी विद्यालयहरु सुनसान हुनथालेपछि गाउँका बालबालिकाहरुलाई गाउँमै खोलिएको सामुदायिक विद्यालयमा राखेर अध्ययन गराउने उद्धेश्यले गाउँका विद्यालयहरुमा शिशु कक्षा देखि नै अंग्रेजी विषयमा पढाई गराउँन थालेपछि गाउँका बालबालिकाहरु निजी विद्यालयहरु छोड्ने क्रम वढ्दै गएको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका अध्यक्ष गोपाल माझीले जानकारी दिए ।

उनले भने– निजी विद्यालयहरुमा एकातिर शुल्क महगों र अर्कोतीर घरवाट विद्यालयसम्म बालबालिकाहरु लिन र पुर्याउन जानु नपर्दा झनै असहज हुँदाहुदै पनि यहाँका अभिभावकहरुले वालवालीकाहरु निजि विद्यालयमा नै पठाउने गर्दा गाउँका सामुदायिक विद्यालयहरु खाली हुँदै गएका थिए ।

स्थानीय अभिभावक, शिक्षक र आफ्नै पहलमा सवै बस्तीहरुमा घरदैलो अभियान संचालन गरि निजी विद्यालयले दिने अंग्रेजी माध्यमको शिक्षा गाउँमै दिने भनेपछि अहिले गत वर्षको भन्दा धेरै विद्यार्थीहरु भर्ना भएका छन् भने कतिपय विद्यार्थीहरु त निजी विद्यालय नै छाडेर सामुदायिक विद्यालयमा भर्ना भएको पनि अध्यक्ष माझीले बताए ।

गाउँमै अंग्रेजी माध्यमको पढाई शुरु भएपछि गाउँका बालबालिकाहरु निजी विद्यालयमा जान छाडेको स्थानीय अभिभावक नवराज माझीले जानकारी दिए । उनले भने पहिलो गाउँमा अंग्रेजी माध्यममा पढाई हुँदैन्थ्यो । सबै अभिभावकले अंग्रेजी माधयममा बालबालिकाहरु पढाउँदा राम्रो हुन्थ्यो की भनेर निजी विद्यालयमा राखेका थियौं । तर अहिले गाउँमै अंग्रेजी विषयमा पढाई हुन थालेपछि निजी विद्यालयमा पठाउन छाडेको पनि अभिभावक माझीले बताए ।

मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरमा १ माध्यमिक विद्यालय र ७ वटा आधारभूत विद्यालय रहेका छन् । ती सबै विद्यालयहरुमा क्रमशः अंग्रेजी विषयमा पढाई संचालन गर्ने र त्यसका लागि विद्यालयमा अध्ययरत बालिबालिकाहरुको संख्या हेरेर वडा कार्यालयले शिक्षक राख्नको लागि आवश्यक बजेट व्यवस्थापन गर्दै जाने वडा अध्यक्ष गोपाल माझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV