२५ भाद्र २०७५, सोमबार
  • अनुला

स्वीडेनमा भएको आमचुनावमा कुनै पनि दलको स्पष्ट बहुमत नआए पछि आप्रवासन विरोधी राष्ट्रवादी दलका नेताले आफ्नो दलले अब स्वीडेनको राजनीतिमा प्रभाव जमाउने बताएका छन् ।

दक्षिणपन्थी आप्रवासन विरोधी पार्टी स्वीडेन डिमोक्र्याट्स् दलका नेता जिमी एकेसनले अब आफ्नो दल राजनीतिमा हाबी हुने र आफ्नो दल अन्य दलहरूसँग मिलेर सरकार बनाउन तयार रहेको बताएका छन् । स्वीडेन डिमोक्र्याट्र्स एसडीले यसपटकको चुनावमा अघिल्लो चुनावभन्दा ५ प्रतिशत बढी अर्थात् १८ प्रतिशत मत एसडीले हासिल गरेको छ ।

सत्तारुढ र विपक्षी राजनीतिक समूह पनि बहुमत हासिल गर्न विफल भएका छन् । लगभग सबै मत गणना भइसक्दा सत्तारूढमध्ये वामपन्थी गठबन्धन दक्षिणपन्थी प्रतिद्वन्द्वीभन्दा थोरै अगाडि देखिएको छ । दुवैले ४० प्रतिशतको हाराहारीमा मत पाएका छन् । राष्ट्रवादी एसडीले १८ प्रतिशत मत हासिल गरेको छ । यो चुनावी परिणामले अब सरकार गठनको लागि लामो राजनीतिक रस्साकस्सी शुरू हुने सङ्केत गरेको छ ।

स्वीडनमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ । त्यसअनुसार हरेक राजनीतिक दललाई प्रत्येक निर्वाचन क्षेत्रमा निश्चित सिटको व्यवस्था गरिएको हुन्छ । त्यो दलहरूले पाउने मतको आधारमा निर्धारण गरिएको हुन्छ । सत्तारुढ र विपक्षी राजनीतिक समूहहरुले राष्ट्रवादी एसडीसँग गठजोडको सम्भावनालाई अस्वीकार गरेका छन् । तर एसडीका नेता जिमी एकेसनले आफ्नो दल राजनीतिक दलहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV