२५ भाद्र २०७५, सोमबार

नेपालगञ्ज । कृषि विकास बैंक खजुरा शाखाका एक कर्मचारीले सुचना प्रविधिको दुरुपयोग गरेर ६६ लाख अनियमिताता गर्दै सवा ४ करोड ठग्न खोजेको कसुरमा निलम्बनमा परेका छन् । बैंक निकट स्रोतले दिएको जानकारी अनुसार खजुरा शाखाका व्यवसाय सहायक घनश्याम अधिकारीले सूचना प्रविधिको दुरुपयोग गरी ६६ लाख अनियमितता गरेको र सवा ४ करोड अनियमितता गर्न खोज्दा निलम्बनमा परेका हुन् ।

अधिकारीले शाखाका प्रबन्धक सञ्जयराज श्रेष्ठको आइडी ह्याक गरी गत १६ साउनमा ४ करोड २८ लाख रुपैयाँ अनियमितता गर्न खोजेको पुष्टि भएपछि उनी निलम्बनमा परेको स्रोतले जनाएको छ ।

सो शाखाबाट २ करोड रुपैयाँभन्दा बढी रकम ट्रान्सफर नहुने भएकाले रकम पेन्डिङमा देखेपछि केन्द्रीय कार्यालयको आइटी विभागले अनियमितताको भेद पत्ता लगाई उनी उपर निगरानी बढाएका स्रोतले जनायो । स्रोतका अनुसार आरोपित अधिकारीसहित अन्यको समेत मेलेमतो भएको हुनसक्ने आशंका गरिएको छ ।

अधिकारीले अनियमितता गरेको घटनाको जानकारी आए लगत्तै बैंकको मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले अनुसन्धान सुरु गरेको र सो क्रममा अधिकारीले झन्डै दुई वर्षको अवधिमा एक सय रुपैयाँदेखि सवा चार करोड रुपैयाँसम्म अनियमितता हुनसक्ने तथ्य फेला पारेको स्रोतको दावी छ ।

सूचना प्रविधिको टोलीले छानबिनका क्रममा विभिन्न मितिमा झन्डै ६६ लाख रुपैयाँ भने अनियमिमता गरेको फेला परेपछि बैंकको केन्द्रीय कार्यालय व्यवस्थापनले अधिकारीलाई अनुसन्धानका लागि भन्दै १३ भदौदेखि निलम्वन गरेको हो ।
अधिकारीले सो रकम आफ्नो कृषि विकास बैंक वाहेकको खातामा र आफन्तहरुको खातामा ट्रान्सफर गरेको भेटिएको छ ।

अधिकारीले विगत दुई वर्षदेखि कम्तीमा एक सय रुपैयाँदेखि एक सय भन्दा बढी पटक गरी ६६ लाख रुपैयाँ अनियमितता गरेको भेद खुलेको छ । कार्यालयमा हुने विभिन्न खर्चको रकम, बैंकको शंकास्पद हिसाबको रकम र अन्तर बैंकिङ हिसाब मिलानको रकमबाट अनियमितता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV