२४ भाद्र २०७५, आईतवार
  • ध्यान कुलुङ,

संखुवासभा, २४ भदौ । बर्षमा दुई पटक मात्र मेला लाग्ने संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने ‘सोह्र सयदेवी उपासी धाम’ पछिल्लो समय धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । जनै पूर्णिमा र बैशाखे पूर्णिमा (बुद्ध जयन्ती)को दिन मात्र लाग्ने धार्मिक मेलामा मनोकांक्षा पुरा हुने विश्वासका साथ सयौं भक्तजनहरु देवीको दर्शन गर्न पुग्ने गरेका छन् ।

जिल्लाको सिलिचोङ गाउँपालिका ४ मांतेवा गाउँदेखि घण्टौं उकालो हिँडेपछि मात्र पुगिने जंगलको विचमा रहेको देवीथानमा धामी झाक्रीसँगै अन्य भक्तजनहरु पुगेर पूजापाठ गर्नेहरुको संख्या बर्षेनी बढ्दो छ । देवीथानमा पुगेर धामीझाक्रीहरुले बरदान माग्ने गर्दछन् भने अन्य भक्तजनहरुले सुस्वास्थ्य, दिर्घायु र प्रगतिको कामना गर्दछन् । धामीझाक्रीले देवीथानमा पुगेर पूजा गरे पृथ्वी लोकमा अन्नको सह हुने, अतिबृष्टि, अनाबृष्टि नहुने लगायतका मान्यता छ । यहाँ दलित, जनजाति र ब्राहमण समुदायका धामीहरुले एकै साथ दर्शन गर्दै आएका धाम व्यवस्थापन समितिका सचिव अर्जुुन कुलुङले बताउनु भयो ।

सृष्टिमा भएका सोह्र सय भगवानहरुको भेला हुने स्थानको रुपमा रहेकोले उक्त देवीथानलाई सोह्र सय देवी उपासी धाम भनिएको स्थानीय जानकारहरु बताउछन् । जनै पूर्णिमा र बुद्ध जयन्तीको दिन सोह्र सय देवीहरु उक्त धाममा भेला हुनेहुँदा त्यहाँ सवै भगवानहरुको दर्शन पाउने विश्वासका साथ टाढाबाट पनि धामी र अन्य दर्शनार्थीहरु आउने गरेका छन् । बर्षेनी तिर्थालु भक्तजनहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै धार्मिक क्षेत्रहरुलाई विकासको मुल प्रवाहमा ल्याउन गाउँपालिकाले महत्वका साथ हेरेको सिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङले बताउनु हुन्छ । तीर्थयात्रीहरु धार्मीक क्षेत्रसम्म पुग्न सहजताको लागि सडक गुरुयोजना बनाएर धाम नजिकै सडक सञ्जाल जोड्ने योजना रहेको प्रमुख कुलुङको भनाई छ ।

साल्पा धाम क्षेत्र धार्मिक रुपमा मात्र नभएर प्राकृतिक रुपमा पनि मनोरम रहेकोले अन्य पुर्वाधारहरु विकास गर्न सके अझ आन्तरिक र बाह्य पर्यटकहरु पनि भित्र्याउन सकिने सम्भावना उच्च छ । जसको लागि आवश्यक पूर्वाधार निर्माणमा स्थानीय सरकारले बेलैमा चासो दिनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV