२४ भाद्र २०७५, आईतवार

काठमाडौं । गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्वन्धी प्रकरणमा आज आइतबार चितवन जिल्ला अदालतले फैसला सुनाएको छ ।

जिल्ला अदालतले फुजेल काण्डमा छविलाल पौडेलसहित १२ जनालाई सफाइ दिएको छ । मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासबाट १३ प्रतिवादीमध्ये १२ जनाले सफाई पाएका छन्। जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तका अनुसार डिल्लीबजार कारागारमा रहेका १२ जनाले सफाइ पाएका हुन् ।

कृष्णप्रसाद अधिकारीको २०६१ सालमा चितवन रत्ननगरमा  आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला अपहरणपछि हत्या भएको थियो।मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै उनका बाबु नन्दप्रसाद र आमा गंगामाया पटक–पटक अनसनमा बस्दै आएका थिए ।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भए। केही महिना अघि आमा गंगामायाले अनशन तोडिकी थिइन्।

LIVE TV