२४ भाद्र २०७५, आईतवार

प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिनु भएको छ । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले आज थापालाई सपथ गराउँदै र दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

थापाले साउन २४ देखि कायम मुकायम प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हाल्नु भएको थियो । प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल भदौ २४ मा सकिएपछि थापाले प्रधानसेनापतिको जिम्मेवारी पाउनु भएको हो । मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । भदौ १२ मा नै राष्ट्रपति भण्डारीले थापालाई प्रधानसेनापति नियुक्त गर्नुभएको थियो ।

२०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गर्नुभएका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गर्नुभएको थियो ।

सेनामा मध्यमतहको कमाण्डरले गर्नु पर्ने स्टाफ कलेज नेपालबाटै गर्नुभएका थापाले भारतको दिल्लीबाट सन् २००९ मा नेशनल डिफेन्स कोर्स र मद्रास विश्वविद्यालयबाट ‘फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीज’मा स्नातकोत्तर गर्नुभएको छ ।

LIVE TV