२४ भाद्र २०७५, आईतवार

काठमाडौं । पीपीसी र ओपीसी सिमेन्टका विषयमा अधिकांशलाई थाहा हुदैन । उपभोक्ता आफैले गुणस्तर परीक्षण गर्न पनि सक्दैनन् । त्यसैले  यसको फाईदा पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले उठाइरहेको छ ।

इन्टरनेसनल सिमेन्ट प्रालिले ओमको पीपीसी सिमेन्टलाई ओपीसी भन्दै सर्वसाधरणलाई विक्री वितरण गरेको भेटिएको छ । संखुवासभाको खाँदबारीमा आफूले उत्पादन गरेको पीपीसी सिमन्टलाई ओपीसी सिमेन्ट भन्दौ बिक्रीवितरण गरिएको भेटिएको हो ।

इन्टरनेसनल सिमेन्ट प्रालिले यस्तो बदमासी गर्न थालेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीबाट उत्पादित ओम सिमेन्टमा नेपाल गुणस्तर चिन्हसमेत स्थगन गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओम सिमेन्टमा भने त्यसको उत्पादनकर्ता कम्पनी इन्टरनेसनल सिमेन्ट प्रालिले उपभोक्तालाई मूल्य र गुणस्तर दुवैमा ठगी गरेको भेटिएको छ। पुडासैनीले भने, ‘एउटा उत्पादनको नाममा फरक वस्तु बेचिएको भेटिएपछि गुणस्तर चिन्ह स्थगन गरिएको छ । पीपीसी र ओपीसी सिमेन्टका विषयमा अधिकांशलाई थाहा नै हुँदैन । झन् उपभोक्ता आफैले गुणस्तर परीक्षण गर्ने भनेको त टाढाको कुरा हो । यस्तो अवस्थामा इन्टरनेसनल सिमेन्ट प्रालिले ग्रामीण क्षेत्रका सोझा साझालाई बढी झुक्याइएको पाइयो ।’

वीरगन्जमा मुख्य कार्यालय तथा जगन्नाथपुरमा उत्पादन उद्योग रहेको उक्त कम्पनीले ओपीसी र पीपीसी ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । ओपीसी र पीपीसी सिमेन्टमा मुख्य फरक भनेको सिमेन्ट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ अर्थात् ‘क्लिंकर’ को मात्रामा हो । ओपीसीमा ९७ प्रतिशतभन्दा बढी र पीपीसीमा त्योभन्दा निकै कम क्लिंकर प्रयोग भएको हुन्छ । क्लिंकरको मात्रा बढी भएकै कारण ओपीसी सिमेन्ट पीपीसीभन्दा केही रकम महँगो पर्न जान्छ । सल्फेट, अल्कालिक र क्लोराइड्सको मात्रा पनि पीपीको भन्दा ओपीसीमा बढी हुन्छ । यी तत्वहरुले नै सिमेन्टको गुणस्तर तथा बलियोपन निर्धारण गर्दछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV