२३ भाद्र २०७५, शनिबार
  • दीपक भट्ट,

रामेछाप, २३ भदौ । निमार्ण व्यवसायीको चरम लापरवाही रामेछापका सडकहरुमा यत्रतत्र देख्न पाइन्छ । लिखु तामाकोशी गाउँपालिका अन्तर्गत धोबी–दिलौरी सडक खण्डको भुस्रा बनमा गरिएको ६५ मिटर सडक ढलान गरेको दुई हप्ता पनि नवित्दै भत्किएर कामै नलाग्ने अवस्थामा पुगेको छ ।

धोवी वजारवाट सैपु तर्फ जाने उक्त सडक खण्ड उकालोे भएकै कारण बलियो बनाउने उद्देश्यले पिचको सट्टा ढलान गरिएको थियो । सडक ढलान गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीले गुणस्तरहिन सामग्री प्रयोग गर्दा ढलान गरेको दुई हप्ता नपुग्दै ढलान फुटेर छियाछिया हुनुको साथै सडक छेउको भागबाट भत्किन थालेको छ ।

सडक डिभिजन कार्यालय खुर्कोटले ६५ मिटर सडक ढलान गर्नको लागि घटाघटमा १३ लाखको टेन्डर आव्हान गरेकोमा दिनेश निर्माण सेवाले ७ लाख ३५ हजार रुपैयाँमा ठेक्का पारेर काम गरेको थियो । सडक निर्माण गर्न निर्माण व्यवसायीलाई जिम्मा लगाएको सडक डिभिजनका कर्मचारीहरु समेत सडक ढलान गर्ने समयमा नगएपछि निर्माण व्यवसायीले डल्ला परेको सिमेन्ट सडक ढलान गर्ने काममा प्रयोग गरेका थिए । सडक डिभिजन कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा उक्त सिमेन्ट प्रयोग भएको स्थानीयको भनाई छ ।

सडक ढलानमा म्याद नाघेको सिमेन्ट प्रयोग गर्नुका साथै बालुवा पनि माटो मिसिएको प्रयोग गरिएको स्थानीय जनप्रतिनिधिको जिकिर छ ।

लिखु तामाकोशी गाउँपालिका–२ ढाँडेमा निर्माण भइरहेको लिखु ४ हाइड्रो पावरको लागि निर्माण सामग्री लिएर ठूलो भारवाहक सवारी साधनहरु हिड्ने भएकाले पनि सडक विग्रिएको गाउँपालिकाको भनाई छ ।

सडक ढलानसँगै नाली निर्माण गर्नु पर्ने सम्झौता भए पनि नाली निर्माण गरिएको छैन । सडक ढलान गर्नुपर्ने ६५ मिटर मध्ये केही भाग ढलान नै नगरि निर्माण ब्यवसायी हिडेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV