
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृ तथा सांसद नबिना लामाले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले आफूलाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएको समाचार प्रचार गरेको बताएकी छिन् । उनले एक विज्ञप्ति निकाल्दै केही संचार माध्यमले कपोकल्पित मनगडन्ते र भ्रामक समाचारहरू सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले भनेकी छिन्,‘समाचारमा आएको जस्तो प्रहरी प्रमुखले हप्काएको भन्ने विषय कपोकल्पित र भ्रामक हो । यस सन्दर्भमा एसएसपी धिरज सिंहसँग पनि सत्य तथ्य बुझ्न सकिन्छ ।’
पक्राउ परेका गुन्डा सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका लामालाई छुटाउन जाँदा एसएसपी सिंहले हप्काएको समाचार आएको थियो ।
आफूलार्इ कुनै पनि प्रकारका अपराधमा संलग्न अपराधीहरूको संरक्षण गर्दै नेता हुनु पर्ने कुनै जरुरत नरहेको समेत विज्ञप्तिमा बताइकी छिन् । लामाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नाम जोडेर समाचार लेखिएकोमा आपत्ति समेत प्रकट गरेकी छिन् ।
यस्ताे छ नविना लामाको विज्ञप्ति
आदरणीय जनसमुदाय,
अजभोली केही मिडिया नेकपा,सरकार र मेरो ब्यक्तिगत राजनीतिक चरित्र हत्या गर्ने ढंग बाट अगाडि बढेको देख्दा अचम्म लागिरहेको छ। मेरा जीवन संघर्ष र राजनीतिक यात्रा एउटा खुल्ला किताबका पन्ना जस्तै छर्लङ्ग छ । हामी राजनीतिकर्मीहरु समाज निर्माणको महान यात्रामा छौ। यदाकदा बाधा व्यवधान हुनु स्वभाबिकै हो तर सम्माननिय प्रधानमन्त्री ज्यु संगको समेत नाम जोडेर केही संचार माध्यमले कपोकल्पित मनगडन्ते र भ्रामक समाचारहरु सम्प्रेषण भएको प्रति मेरो गम्भीर अापत्ती रहेको छ।हामी कुनै पनि प्रकारका अपराधमा संलग्न अपराधी हरु को संरक्षण गर्दै नेता हुनु पर्ने कुनै जरुरत छैन।
हामी निरन्तर को बलिदानी पुर्ण संघर्ष को मैदान बाट हुर्कदै आएको राजनीति कर्मी हौं।जुन नियबस मेरो चरीत्र माथी बारम्बार प्रश्न उठ्ने हिसाबले समाचार संप्रेसन भएको देखिरहेको छु त्यो सबै नितान्त पुर्वाग्रह पुर्ण देखिन्छ ।समाचारमा अाएको बिषय माथि म केही प्रष्ट पार्न चाहन्छु।सत्य लामा काभ्रेको तिमाल क्षेत्रको नेकपा समर्थक कार्यकर्ता हो र मुद्दा लगाउने भाइ पनि नेकपा समर्थक कर्याकर्ता र मेरो अाफन्त पनि भएको हुदा एक आपसमा मिलेर अाउदा के हुन्छ भनी सम्बन्धित फाटका प्रहरी प्रमुखलाई सोध्दा यो त राम्रो कुरा हो उहाँहरू दुबै मिलेर अाउने कुरा सकारात्मक हुन्छ भन्ने जवाफ दिनुभएको हो।
समाचारमा अाएको जस्तो प्रहरी प्रमुखले हप्काएको भन्ने बिषय कपोकल्पित र भ्रामक हो।यश सन्दर्भमा एस पी धिरज सिंहसँग पनि सत्य तथ्य बुझ्न सकिन्छ।कुनै ब्यक्तीलाई छुट्याउनु भन्दा पनि सामान्य आपसी भनाभनको घटना भएको र दुबै चिनजानका सम्बन्ध रहेकोले उहाँहरूकै अाग्रहमा मध्यस्थता सम्म गरेको हु । जसरी समाचार सम्प्रेषण भएको छ घटना बिल्कुल फरक भएको जानकारी गराउदै यस्ता भ्रामक समाचार सम्प्रेषण प्रती घोर भ्रत्सना सहित खेद प्रकट गर्न चहान्छु ।
हार्दिक धन्यवाद सहित !!
नबिना लामा अध्यक्ष,अनेरास्ववियु एवम् संघीय संसद सदस्य