२२ भाद्र २०७५, शुक्रबार
  • भगिश्वर लिम्बु,

तेह्रथुम, २२ भदौ । तेह्रथुमको दुई गाउँपालिका र सदरमुकाम म्याङलुङ जोड्ने खोरङ्वा खोलामा मोटोरेबल पुल नहँुदा स्थानीयलाई आवत जावतमा निकै सास्ती भोगिरहेका छन् । म्याङलुङ नगरपालिकासंग फेदाप र आठराई गाउँपालिका जोड्ने यो खोलाबाट वारपार गर्न जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुल प्रयोग गर्न स्थानीयवासी बाध्य छन् ।

खोलामा मोटोरेबल पुल नहुँदा म्याङलुङ नगरपालिकाको शाब्ला र फेदापको ओयाक्जुङ जोडिएको झोलुङ्गे पुलबाट मोटरसाईकलहरु तर्दै आएका छन् । बर्षा याममा मात्र नभई बाह्रै महिना यो झोलुङ्गे पुलबाट स्थानीयबासीले जोखिम मोलेरै मोटरसाईकल तार्ने गरेको आठराई गाउ पालिका खाम्लालुङ बस्ने यामजाथ दाहालले बताउनु हुन्छ ।

खोलाको बाटो जादा पुरै डुविने भएकोले झोलुङ्गे पुल बाटै तार्ने गरेको मोटरसाईकल चालकहरु बताउछन् । पानीको बहाबले खोलाबाट मोटरसाईकल तार्न समस्या हुने भएकोले पुलबाटै दैनिक दुई दर्जन बढी मोटरसाईकल वारपार गर्ने गरेका छन् । यस खोलामा पक्की पुल नहुँदा समस्या भएकाले पुल बनाउन पहल गरिदिन सरकारसँग स्थानीयवासीले अनुरोध गरेको फेदाप ४ सम्दु निवासी बृखवहादुर राई बताउनु हुन्छ ।

चार दशक अगाडि बनेको झोलुङ्गे पुल जिर्ण भएको र दुवै तर्फको गोरेटो बाटो साँघुरो भए पछि केहि मोटरसाईकल अड्किएर सवारी चालकहरु घाईते हुने गरेका छन् । पुलमा राखिएको काठ समेत मक्किएको र कुनै भाँचिएकाले आवत जातव गर्न समस्या हुने गरेको फेदाप गाउपालिका ओयाक्जुङकी दुर्गा दाहाल बताउनु हुन्छ ।

तत्कालीन जिल्ला बिकास समिति तेह्रथुमले पुल हेरालुको ब्यबस्था गरेर रेखदेख गर्दै आए पनि अहिले पुल हेरालुको बारेमा स्थानीय सरकारले चासो नदिदा पुल दिन प्रतिदिन जिर्ण बन्दै गएको स्थानीयको गुनासो छ । साबिकका १२ वटा गाबिसका नागरिकहरु सदरमुकाम म्याङलुङ आउदा हिड्ने गरेको यस झोलुङ्गे पुल करिब चार दशक अघि निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV