२२ भाद्र २०७५, शुक्रबार

काठमाडौं, २२ भदौ । चीनको भूमि भएर तेस्रो मुलुकसँगको आयात तथा निर्यात खुला हुने भएको छ । नेपाल-चीनबीच सन् २०१६ मा सम्पन्न भएको पारवहन सम्झौताको प्रोटोकलले अन्तिम रुप पाएसँगै नेपालले चीनबाट पनि समुद्रसँग पहुँच पाएको हो ।

२ वर्षअघि भएको पारवहन सम्झौताको प्रोटोकलको तेस्रो बैठकले नेपालले चीनका सबै खुला सामुद्रिक बन्दरगाह र सबै खुला सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने भएको हो । त्यसमध्ये हालको लागि नेपालले ४ वटा सामुद्रिक र ३ वटा सुख्खा बन्दरगाह प्रयोग गर्न सक्नेछ । चीनसँगको यो प्रोटोकल तयार भएसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले दुनियाँसँगको व्यापार हुने दोस्रो बाटो सिर्जना भएको दावी गर्नुभयो ।

प्रोटोकल तयार भएसँगै हालका लागि प्रयोग गर्न सक्ने सामुद्रिक बन्दरगाहमा तियान्जेन, सेनजेन, लियानयुंगाङ र झाङजियाङ तथा सुख्खा बन्दरगाहमा लान्जाओ, ल्हासा र सिगात्से रहेका छन् । नेपालले पारवहनका लागि नेपालका ६ वटा नाकामार्फत पारवहन गर्न सकिने सहमति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालतर्फको रसुवा, कोदारी, किमाथान्का, नेचुङ, यारी र ओलाङचुंगोलामार्फत पावहन ढुवानी गर्न सकिने भएको छ । चिनियाँ बन्दरगाहबाट सबैभन्दा उपयुक्त र किफायति मार्ग प्रयोग गरी नेपालको कार्गो ढुवानी गर्न सकिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०१६ मा चीन भ्रमणका बेला पारवहन सम्झौता गर्नु भएको थियो । पहिलोपटक ल्हासामा प्रोटोकलको फ्रेमवर्क तयार गरिएको थियो भने गत असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा असोजभित्र प्रोटोकल तयार पार्ने सहमति भएको थियो । यससँगै तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य भएको छ ।

 

LIVE TV