२२ भाद्र २०७५, शुक्रबार

काठमाडौं, २२ भदौ । राष्ट्रियसभाको आजको बैठकले “जैविक विविधता महासन्धि अन्र्तगत जारी भएको आनुवंशिक स्रोतमा पँहुच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्वन्धी नागोया अभिसन्धिको सम्मिलनमाथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा पेश गर्नुभएको सो प्रस्तावको सैद्धान्तिक छलफलमा सांसद रामनारायण बिडारी र राधेश्याम अधिकारीले भाग लिनुभएको थियो ।

सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहँुदै मन्त्री बस्नेतले नेपाल जैविक विविधतामा धनी भएकाले त्यसको उपयोग गर्न अभिसन्धिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रविधि र पूँजीको परिचालन गरी लाभको क्षेत्र विस्तार गरिने उहाँको प्रतिबद्धता थियो ।

अर्को बैठक भदौ २६ मा

राष्ट्रिय सभाको आजको दोस्रो बैठक सूचना टाँस गरी भदौ २६ गतेसम्मका लागि स्थगित गरिएको छ । बेलुकी सवा पाँच बजेका लागि बोलाइएको दोस्रो बैठकमा महिला, वालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले “बालबालिका सम्वन्धी विधेयक, २०७५ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुपर्ने कार्यसूची थियो ।

आजको दोस्रो बैठक विशेष कारणले स्थगित गरिएको सूचनामा जनाइएको छ । बैठक भदौ २६ गते १ः०० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV