२२ भाद्र २०७५, शुक्रबार

कञ्चनपुर, २२ भदौ । कञ्चनपुर उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले घटना अनुसन्धानमा प्रहरीले लापरवाही गरेको निष्कर्ष निकालेको छ ।

महेन्द्रनगरमा आज सम्मेलन गर्दै समितिले निर्मलाको हत्या प्रकरणमा अनुसन्धानको मुख्य पाटो छोडेर प्रहरीले लापरवाही गरेको निष्कर्ष सार्वजनिक गरेको हो । घटनाका मुख्य दोषीबारे स्पष्ट नभएको समितिले शंकास्पद पाटोको बेवास्ता गर्दा आन्दोलनले उग्ररुप लिएको र आन्दोलन दबाउन प्रहरीले अनावश्यक बल प्रयोग गरेको निश्कर्ष पनि निकालेको छ । ‘अनुसन्धानमा खटिएका प्रहरीबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम गरेको देखियो’ समितिले स्पष्ट भनेको छ ।

भदौ ७ गते पन्ध्र दिने म्याद दिएर गठित छानविनसमिति ‘अधुरो’ प्रतिवेदन लिएर काठमाडौं फर्किएको छ । आजै म्याद सकिने समितिले ३-४ दिनभित्र प्रतिवेदन बुझाइने जनाएको छ । यसैबीच, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका परिवारसँग भेटघाटसहित घटनास्थलको अबलोकन गर्नुभएको छ । सोक्रममा महानिरीक्षक खनालले शंका सत्यमा परिणत भए अनुसन्धान प्रभावित पार्न खोज्ने प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु भयो ।

अनुसन्धानमा समय लागे पनि दोषी उम्कन नसक्नेमा महानिरीक्षक खनालले ढुक्क हुन कञ्चनपुरवासीलाई आग्रह पनि गर्नुभएको छ । १३ वर्षीया निर्मलाको साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो ।

LIVE TV