२२ भाद्र २०७५, शुक्रबार

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज  ४४ दिन पुगिसकेको छ । तर पनि हत्यारा को हुन ? भनेर अझै पत्ता लागेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको पनि झण्डै एक महिना बितिसक्यो तर हत्यारा पत्ता लागेको छैन् ।

यति धेरै दिन वितिसक्दा पनि प्रहरीले पत्ता लगाउन नसकेपछि पीडित परिवार र स्थानीयले विभिन्न आशंका गर्ने थालेका छन् । यही घटनाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युसमेत भएको थियो ।  मृत्युपछि  प्रहरीले पुन: प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको बताए पनि हालसम्म वास्तविक दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानीयमा अनेक शंकाहरु उब्जिएका हुन् ।

प्रहरीले नै घटनामा संलग्न प्रमाणहरु नष्ट गरेको आरोप लगाउँदै स्थानीयबासिन्दाले प्रहरीको अनुसन्धानमा शंका गरेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित प्रहरी प्रमुखको सरुवा गरेको थियो । स्थानीयले आन्दोलन चर्काएपछि गृह मन्त्रालयले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली बिष्टलाई निलम्बन गरेको थियो भने प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो ।

प्रहरी भन्छ – अनुसन्धान जारी छ

निर्मलाको हत्या भएको डेढ  महिना वितिसक्दा पनि हत्यारा को हुन् भन्ने पत्तो लागेको छैन । तर जिल्ला प्रहरी कार्यालयले अनुसान्धन जारी रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धान चलिरहेपनि प्रगति हुन नसकेको बताए । ‘हामी अनुसन्धानमै छौं, तत्काल केहि भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘विगतका भन्दा अनुसन्धान पनि अलि सहज बन्दै गएको छ ।’

उनले भदौ ७ र ८ को घटनापछि अनुसन्धान गर्न केहि असहज भएपनि अवस्था सामान्य बन्दै गएको बताए । ‘अहिले पनि सुचना पाउन निकै समस्या भईरहेको छ,’ एसपी कडायतले भने, ‘घट्नास्थल, पीडित वा बम परिवारको घरमा जांँदा भीड मात्रै पछि लाग्छ ।’ उनले स्थानीयले शंका गरेका बम दिदी बहिनी रोशनी र बबिताको बयान लिने काम सकिएको बताए ।

उच्चस्तरीय टोली काठमाडाैं फर्किंदै

निर्मला हत्या प्रकरणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गर्न कञ्चनपुर पुगेको उच्चस्तरीय छानविन समिति आज  काठमाडौं फर्किदैछ । टोलीले घटनाको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पारेर काठमाडौं फर्किन लागेको हो ।

टोलीलाई निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो । भदौ ८ गते महेन्द्रनगर पुगेको टोलीले सर्वदलीय-सर्वपक्षीय छलफल गरी ९ गतेदेखि आफ्नो काम अगाडि बढाएको थियो ।

स्वास्थ्य परीक्षणमा प्रहरीको हस्तक्षेप

निर्मलाको हत्यामा संलग्न भनेर पक्राउ परिएका बिष्टको मानसिक अवस्था परीक्षण गर्ने भनेर भदौ १२ गते (मंगलवार) काठमाडौं ल्याइयो । त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञले ९ दिनसम्म दिलीपको निगरानी गरेर रिपोर्ट तयार गरिसकेका छन् । अस्पतालका तर्फबाट बिहीवार प्रहरीलाई रिपोर्ट पनि बुझाइसकिएको छ ।

तर प्रहरीले उनको मानसिक अवस्था परीक्षण गर्न लगेको भने पनि परिवारजनले अर्कै दावी गरेका छन् । दिलिपका परिवारजनले मंगलबार अपरान्ह पनि उनलाई भेटेका छन् ।

शिक्षण अस्पतालको तेस्रो तल्लाको सुनसान भागमा रहेको एक कोठामा हत्कडी र नेलमा बेह्रेर दिलिपलाई राखिएको परिवारको आरोप छ । उनलाई अँध्यारो कोठामा प्रहरीले घेरा हालेर राखेको स्रोतले दाबी गरेको छ ।  चिकित्सकहरुले पटक पटक दिलीपलाई खुला वातावरण उपलब्ध गराउनुपर्ने भन्दा पनि प्रहरीले मानेन् ।

दिलिपका दाजु खडक विष्टले आफ्नो भाईलाई चरम यातना दिइएको दावी गरेका छन् ।  उनको अनुसार दिलिपको मानसिक अवस्था झन् बिग्रेको छ । खडक विष्टका अनुसार हिरासतमा प्रहरीको कुटाईबाट दिलिपको छाती र हातमा चोट लागेको छ । विष्टले दिलिपलाई दिइएको यातना लुकाउन काठमाडौं लगिएको दावी समेत गरेका छन् ।

बम दिदीबहिनीको ५ दिन म्याद थप

निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र वबिता बमलाई फेरि ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि फेरि ५ दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए  ।

यसअघि पनि अदालतले सोधपुछ र अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरेको थियो । उनीहरुको बयान लिने काम भइरहेको छ भने अरुलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिएको छ ।

एक महिनासम्म बास्तविक हत्यारालाई जोगाउने खेल

प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन । साउन १० गते साथी (रोशनी बम)को घर गएकी निर्मला दोस्रो दिन (साउन ११ गते) उखुबारीमा मृत फेला परेकी थिइन् ।

निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई भनिराख्नुपर्ने विषय थिएन । तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्टको टोली मात्र होईन केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्ने चासो दिएनन् ।

निर्मला बेपत्ता भएकै दिन खोजीका लागि चासो नदिएको प्रहरीले निर्मलाको हत्या भएको २४ दिनपछि दिलीपलाई पक्राउ गरेको थियो ।दिलीपलाई पक्राउ गरेपछि स्थानीयले चर्को विरोध गरे । आन्दोलन भयो । आन्दोलनमा प्रहरीले चर्को दमन गर्यो । प्रहरीको गोली लागेर सनीको मृत्यु भयो ।

न्यायका लागि भएको आन्दोलनमा एकजनाको ज्यान नै गइसकेपछि सरकार केही गम्भीर देखियो । सरकार गम्भीर देखिएपछि स्थानीयमा पनि बास्तविक हत्यारा पक्राउ पर्ने आसा पलाएको थियो । तर जति जति समय बित्दै गएको छ, त्यति नै निर्मला पन्तका बास्तविक हत्यारालाई जोगाउने खेल हुँदै गइरहेको स्थानीयको बुझाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV