२१ भाद्र २०७५, बिहीबार

पोखरा, २१ भदौ । मुख्यमन्त्रीहरुले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कञ्जुस्याई गरिरहेको आरोप लगाएका छन् ।

संघ र प्रदेशबीच देखिएको अधिकार प्रत्यायोजनमा टकरावको स्थिति देखिँदा पोखरामा भेला भएका ६ प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारको एकात्मक राज्यको मानसिकताका कारण प्रदेश अप्ठ्यारोमा परेको भन्दै प्रदेशलाई ‘डमरु’ बनाउन खोजिँदा संघीयता नै असफल हुनसक्ने चेतावनी समेत दिएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वास्थ्य समस्याका कारण उपस्थित भेलामा अन्य ६ प्रदेशका मुख्यमन्त्रीले संविधानले दिएको अधिकार पाउन पनि लड्नैपर्ने बाध्यता आएको समेत औंल्याए । प्रदेशले आफ्नै नीति कार्यक्रम र बजेट ल्याए पनि कार्यान्वयन गर्ने संयन्त्र संघीय सरकारले नै कब्जा गर्दा जनचाहना अनुसार काम गर्न नसकिएको उनीहरुको भनाइ थियो ।

संघीयता सफल बनाउने प्रदेशलाई अधिकार बिहीन बनाईएको, कर्मचारीको सरुवा वा नियुक्त हुँदा प्रदेश सरकारलाई थाहा नै नदिइएको, प्रदेश सरकारको निर्णय संघीय सरकारका स्थानीय सम्यन्त्रले कार्यान्वयन नगरेको, कर्मचारीमा केन्द्रिकृत मानसिकता रहेको भन्दै उनीहरुले तत्काल सच्याउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसदले नै कानून बनाउन ढिलाई गर्दा संरचना हस्तान्तरणमा समस्या रहेको, संवैधानिक आयोग नहुँदा स्रोत बाँडफाँटमा अन्योल रहेको, संघीय सरकारले सानातिना योजनामा पनि रकम बिनोयोजन गरेर प्रदेशको अस्तित्व स्वीकार नगरेको भन्दै मुख्यमन्त्रीहरुले संघीय सरकारको आलोचना गरेका छन् ।

प्रदेश र संघीय सरकारबीच केही असमझदारी देखिएकाले त्यसको सामाधान खोज्न गण्डकी प्रदेशको आतिथ्यतामा भेला गरिएको हो । अन्तर प्रदेश परिषद्को बैठक अघि समान धारणा बनाउन भेला महत्वपूर्ण भएको मुख्यमन्त्रीहरुको भनाइ छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्को बैठक भदौ २४ गते आइतबार बस्दै छ ।

LIVE TV