२१ भाद्र २०७५, बिहीबार
  • अमर काफ्ले,

इनरुवा । विपी जयन्तीको अवसरमा इनरुवामा भिन्न शैलीमा कार्यक्रम आयोजना गरिने भएको छ । बिरामीलाई फलफूल वितरण तथा विपी चिन्तन जस्ता विषयमा अन्र्तकृया र गोष्ठी जस्ता विगतका वर्षहरुमा हुँदै आएको कार्यक्रमको शैली परिवर्तन गरि जयन्ती मनाउन लागिएको हो ।

यहि भदौ २४ गते जयन्तीका अवसरमा नेपाली काँग्रेस नगर कार्य समिति इनरुवा सुनसरीले तिज कार्यक्रमसँगै, नगरभित्रका एसईई उतिर्ण विद्यार्थीको सम्मानका साथै आधुनिक संगीतको कार्यक्रम रक कन्सर्टको आयोजना गर्ने लागेको छ ।

इनरुवा खेल मैदानमा दिउँसो आयोजना गरिने कार्यक्रमलाई दुई चरणमा विभाजन गरी सञ्चालन गर्ने निर्णय भएको नेपाली काँग्रेस इनरुवा नगर कार्य समिति सचिव धिरज भट्टराईले जानकारी दिए ।

कार्य समितिको आज बसेको बैठकले पुर्व अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा विपी जयन्ती मनाउने निर्णय गरेको छ ।
सचिव भट्टराईका अनुसार सार्वजनिक स्थानमा हुने कार्यक्रमलाई वृहत बनाउनेगरी जनशक्ति परिचालन र तयारी थालिएको छ ।

युवा लक्षित गरिएको कार्यक्रमले युवा शक्तिलाई विपी चिन्तन तर्फ आर्कषित गराउने र समय सान्दर्भिकतासँग जोडेर भविष्य निर्माणको बाटो तय गर्न उत्प्रेरणाको प्रयास गरिने छ । संगीत प्रति युवा आर्कषण बढी हुने भएकाले सोही माध्यमबाट विपी चिन्तन र खोजलाई जोड्न खोजिएको सचिव भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV