२१ भाद्र २०७५, बिहीबार

२०७२ मंसिर १२ देखि यातायात व्यवस्था विभागले गरेको स्मार्ट लाइसेन्स वितरण गर्ने निर्णय अहिले विभागका लागि टाउको दुखाईको विषय बनेको छ । दैनिक देशभरका १६ कार्यालयहरुवाट चार हजार भन्दा बढि लाइसेन्सको माग हुने तर आपूर्तिको अवस्था भने मुश्किलले १५ सय मात्र हुँदा सेवाग्राहीको निशाना विभाग नै बन्दै आएको छ । गुनासो थेग्न नै गाह्रो भएपछि अहिले यातायात विभागले मास प्रिन्टर ल्याउने तयारी शुरु गरेको छ ।

स्मार्ट लाइसेन्स वितरण अगाडि लाइसेन्सको मागको बारेमा आवश्यक छलफल नै नगरी स्मार्ट लाईसेन्स बितरण शूरु गर्दा अहिले विभागले धेरै समस्या झेल्नु परेको छ । भर्खरमात्र आएका महानिर्देशक लावण्यकुमार दाहालले अघिल्लो नेतृत्वले समयमा सोच बिचार नपु¥याउदा अहिले विभागले समस्या झेल्नु परेको भन्दै अवको केही महिनाभित्रमा सेवाग्राहीको माग पूरा गर्ने गरि तयारी थालनी गरेको जानकारी दिनुभयो । अहिले माग भइ आएको भन्दा दोब्बर बढी संख्यामा स्मार्ट लाइसेन्स छाप्न सक्ने मेसिन झिकाईने उहाँको दावी छ । मास प्रिन्ट आएपछि दैनिक १० हजारसम्म स्मार्ट लाइसेन्स छाप्न सकिन्छ ।

यातायात विभाग मीनभवनले दुई बर्ष अगाडि भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सवाट आठवटा स्मार्ट लाईसेन्स छाप्ने प्रिन्टर्स खरिद गरेको थियो । अहिले ४ वटा मेसिन मात्र प्रयोगमा छन भने चारवटा विग्रिसकेका छन । विभागले एक बर्षको मात्र वारेन्टी लिएर ल्याएका करोडौको सम्पत्ति अहिले प्रयोगविहीन बन्दा सेवाग्राहीले सास्ती व्यहोर्नु परिरहेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले देशभरका १६ कार्यालयमा नै काठमाडौंवाट प्रिन्ट गरेर पठाउनुपर्ने अवस्था रहदा पनि स्मार्ट लाईसेन्स वितरणमा सेवाग्राहीले लामो समयसम्म कुर्नुपर्ने अवस्था रहेको बताउनुभयो । बिशेषगरि लाइसेन्सको म्याद रहदा पनि बिदेशमा जान चाहनेहरुले स्मार्ट लाइसेन्स नै खोज्ने भएकाले पनि माग बढि हुने गरेको छ ।

यसोत मद्रास प्रिन्टर्सका कर्मचारीहरु अझै पनि बिभागमा आएर मर्मत गर्ने प्रयास गरिरहेका छन । तर पनि मर्मतलेमात्र उक्त मेसिन चल्ने र माग थेग्ने अवस्था छैन । त्यसैले सेवाग्राहीले लामो समय पर्खनुपर्ने समस्या समाधानका लागि विभागले मास प्रिन्टरको बोलपत्र आह्वान गर्ने तयारी थालनी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV