२१ भाद्र २०७५, बिहीबार

टोकियो। उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।

गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ । प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । सो उद्धारकार्यमा अरु करिब २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताउनुभयो ।सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९.० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV