२० भाद्र २०७५, बुधबार
  • दीपक उपाध्याय,

कैलाली, २० भदौ । चर्को आलोचना र विरोधपछि कैलालीको धनगढी उप–महानगरपालिकाले कर घटाएको छ । ब्यक्तिगत घटना दर्तादेखि नागरिकता लागि गरिने सिफारिस र फारमसमेत उपमहानगरपालिकाले निःशुल्क गरेको हो ।

धनगढी उप–महानगरपालिकाले नागरिकता लिनका लागि गरिने सिफारिस तथा फाराम निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । उपमहानगरपालीकाका आन्तरिक लेखा परीक्षक लेखनाथ ओझाका अनुसार यस अघि नागरिकताका लागि गरिने सिफारिस शुल्क देखि अस्पताल र औषधिका लागि गरिने सिफारिसहरु निःशुल्क दिन थालेको छ । धनगढी नगरका नागरिकहरुलाई आवश्यक पर्ने रगत समेत निशुल्क उपलब्ध गराइन थालेको छ ।

ब्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, मृत्यू, बिवाह दर्ता, बसाईसराई निशुल्क गरिएको उप–महानगरपालीकाले जनाएको छ । अपाङ्ग परिचयपत्रका लागि गरिने सिफारिस, पेन्सन र सामाजिक सुरक्षा सम्वन्धित सिफारिस, कानुनी सहायताका लागि गरिने सिफारिस र सामाजिक तथा आर्थिक रुपमा पछाडि परेका बर्गका लागि गरिने सबै किसिमका सिफारिस निशुल्क गरिएको धनगढी उप–महानगरपालिकाका आन्तरिक लेखा परीक्षक ओझाले बताउनु भयो ।

सडक क्षेत्र देखि ३० मिटर सम्मको जग्गा ब्यावसायीक र त्यस पछाडिको जग्गा कृषियोग्य भनेर मापदण्ड बनाएर जग्गा मुल्यांकन गरिएको छ । अहिले एकीकृत सम्पत्ति करसमेत १५ प्रतिसतले घटाएको उपमहानगरपालिकाले जनाएको छ । धनगढी उप–महानगरपालीकाले मदिरा, सूर्तीजन्य पदार्थ, ईटा उद्योग, क्यासिनो, अस्पताल, नर्सिङ्ग होमलाई करको दायरामा ल्याएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृर्पबहादुर वडले नगरपालिकाले कर बृद्धि गरेर जनतालाई दुःख नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाले विभिन्न सेवामा कर घटाएसंगै नगरबासीले केही राहत महशुस गरेका छन् ।

 

LIVE TV