२० भाद्र २०७५, बुधबार

काठमाडौं, २० भदौ । बिमस्टेक सम्मेलनमा सैन्य अभ्यासको चर्चा भएपछि यतिबेला प्रतिपक्षसँगै सत्तापक्षकै सांसदले समेत सैन्य अभ्यासको विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यास गर्नु नौलो कुरो नभएको भनेर प्रष्टीकरण दिएपनि सत्तापक्षकै सांसद समेत सैन्य अभ्यासको विरोधमा उत्रिएका हुन् । प्रमुख सत्तारुढ दल नेकपाका सांसदले नै बिमस्टेक सदस्य राष्ट्रबीच हुने सैनिक अभ्यासमा सहभागी भए नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका सांसद भीम रावलले नेपालले भारतको ग्रान्ड डिजाईन अनुसार सैन्य अभ्यासमा सहभागी हुन नहुने बताउनुभएको हो । नेता रावलले बिमस्टेकका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानसेनापति सहितको विशेष बैठक बस्ने र सैनिक अभ्यासको कुरा गरे पनि त्यस्तो काममा नेपाल सहभागी हुन नहुने तर्क समेत गर्नुभएको थियो ।

भारतीय विदेश मन्त्रालयको वेबसाइटमा सैन्य अभ्यासको कुरा लेखिएको उल्लेख गर्दै सांसद रावलले संवेदनशील राजनीतिक अवस्थालाई बिर्सेर नेपालले कुनै प्रकारको सैनिक अभ्यासमा सहभागी हुन नमिल्ने प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV