२० भाद्र २०७५, बुधबार
  • शरद/प्रकाश,

चितवन, २० भदौ । चितवनमा ठूलो परिणाममा सुन र चाँदी बरामद भएको छ । चितवनको नारायणगढबाट २ केजी ७६ ग्राम सुन र ४ केजी ६१७ ग्राम चाँदीसहित एक जना पक्राउ परेका छन् ।

नारायणगढको न्यू गणेश सुनचाँदी पसलमा लुकाई राखिएको सुनचाँदी र नगद १२ लाख रुपैयाँ प्रहरीले बरामद गरेको हो । विशेष सूचनाका आधारमा ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएका प्रहरी निरीक्षक रोशन थापाको विशेष टोली र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालको विशेष टोलीले मंगलबार सुनचाँदीसहित नगद बरामद गरेको हो ।

बरामद गरिएका सुनचाँदी र नगद बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । भरतपुर महानगरपालिका–१ पुतली बजारमा डेरा गरि बस्दै आएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई प्रहरीले नियन्त्रणमा लिएर बरामद सुनसहित सार्वजनिक गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट सो सुन र चाँदी तिब्बतसंग नाका जोडिएको रसुवाबाट अवैध रुपमा भित्र्याइएको खुलेको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिनु भयो ।

बरामद गरिएको सुनचाँदीको अनुमानित मूल्य एक करोड बराबर रहेको छ । चितवनमा माग अनुसार सुनचाँदी आपूर्ति नहुँदा पटक–पटक अवैध रुपमा सुन भित्रिने गरेको छ । केही दिन अघि मात्र चितवनका सुनचाँदी व्यवसायीहरुले माग अनुसारको सुनचाँदी नपाएको भन्दै दुईदिन पसल ठप्प पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV