१९ भाद्र २०७५, मंगलवार

यो बाह्रविसे–तातोपानी सडकखण्डको एउटा दृश्य । केहीदिन अघि सादिखोलामा आएको बाढीले यहाँको पुल नै बगाइदियो । पुल बगाएपछि बनाएको कामचलाउन सडकबाट यसरी मानिस र सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् ।

अनि यो १० किलो नजिकै खसेको पहिरो । यहाँदेखि उत्तरीतिर अर्थात् नेपाल–चीन नाकासम्म सवारीसाधन जानसक्ने स्थिति नै छैन । अनि यो चाहिँ जुरेपहिरोको दृश्य । यहाँ कतिबेला पहिरो खसेर सडक अवरुद्ध हुन्छ ? कुनै ठेगान हुँदैन ।

यतिमात्रै होइन, खासगरी बाह्रविसेदेखि तातोपानीसम्मको करिब २६ किलोमिटर सडकको अवस्था दर्दनाक छ । कतिबेला गुडिरहेको गाडीमा ढुंगा खस्छ, पत्तो हुँदैन । पहरो काटेर बनाएको साँघुरो सडक, ठाउँठाउँमा पहिरो, सडक तलतिर उर्लेर बगिरहेको भोटेकोशी । यो सडक हुँदै यात्रा गर्न मुटु नै गह्रो बनाउनु पर्ने स्थिति छ ।

२०७१ सालमा खसेको जुरे पहिरो, २०७२ सालको विनाशकारी भूकम्प, २०७३ मा आएको भोटेकोशी बाढी र त्यसपछि पनि निरन्तर खसिरहेको पहिरोका कारण यो सडकखण्ड अवरुद्धप्रायः छ । सडकको दूरावस्थाकै कारण तातोपानी नाका २०७२ सालदेखि पूर्णत बन्द छ । जुरेपहिरोपछि केही समयका लागि खुलेको नाका भूकम्पपछि ठप्प भएको हो ।

नेपाल–चीनबीचको पहिरो, ठूलो र साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको तातोपानी नाका बन्द हुँदा देशले दैनिक करोडौं रुपैयाँ राजश्व घाटा व्यहोरिरहेको छ । यो नाकाहुँदै व्यापार व्यवसाय गर्दै आएकाहरु विस्थापित भएका छन् । व्यपारसँग सम्बन्धित मजदुरहरुको दैनिकी जर्जर भएको छ । कुनैबेलाको व्यापारिक केन्द्र तातोपानी र यो सडकखण्ड आसपासका नागरिकको बिचल्ली भएको छ । सडक अवरोध र पहिरोकै कारण यहाँका सयौं परिवार विस्थापित भएको छ । यहाँका नागरिकलाई अहिले दैनिकी चलाउन धौधौ छ । र, हरेक रातदिन बाढीपहिरोको त्रासमा बस्नु परेको छ ।

सडकको यस्तो अवस्था भएको तीन पुगिक्यो । सडककै कारण तातोपानी नाका बन्द भएको पनि उति नै समय भयो । तर, नेपाल पक्षबाट नाका खुलाउन आवश्यक कूटनीतिक पहल भएको छैन । यद्यपि, पछिल्लो समयमा नेपालले गरेको केही प्रयासले सार्थक रुप लिने अपेक्षा बढेको छ । अहिले चिनियाँ पक्षले पनि यो नाका खुलाउन थप प्रयास गरिरहेको छ । पछिल्लो समय बढेको प्रयासले एक वर्षभित्र नाका सञ्चालनमा आउने दुवै पक्षको विश्वास छ ।

नाका खोल्ने प्रयास

पहिरो र सडकको दूरावस्थाका कारण तीन वर्ष बन्द तातोपानी नाका सञ्चालनमा आउने सम्भावना बढेको छ । नेपाल सरकारको आग्रहपछि चीनले पनि यो नाका सञ्चालनका लागि केही ठोस प्रयास गरिरहेको छ । परिणामस्वरुप आईतबार चीनियाँ प्राविधिक तथा प्रशासनिक टोलीलले तातोपानीदेखि बाह्रविसेसम्मको सडकखण्डको अवस्था अवलोकन गरेको छ ।

सडक अवलोक गर्दै बाह्रविसेको आएको चिनियाँ टोलीलाई बाह्रविसे नगरपालिकाले भव्य स्वागत गर्दै छिटो नाका सञ्चालन गरिदिन आग्रह गरेको छ । नगरपालिका कार्यालयमा आयोजित स्वागत कार्यक्रममा चिनियाँ पक्षले आफूहरु पनि तातोपानी नाका सञ्चालन गर्न आफूहरु आतुर भएको प्रतिक्रिया दिएको थियो । कार्यक्रमपछि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले नाका खोल्न चिनियाँ पक्ष सकारात्मक रहेको र आगामी मे महिनासम्ममा नाका खुल्ने विश्वास व्यक्त गरे ।

नाका सञ्चालन नहुनुको मूल कारण सडक नै भएको सबैको बुझाई छ । त्यसैले सडकको स्तरोन्नति गर्ने काम पनि छिटै सुरु हुने बताइएको छ । तत्कालका लागि मर्मत गरेर सडक सञ्चालन गर्ने र सडकको स्तारोन्नतिका लागि आफूहरुले सक्दो पहल गरिरहेको प्रतिक्रिया छ, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख ईन्जिनीयर अशोक तिवारीको ।

सिन्धुपाल्चोकको प्रशासनिक तहबाट पनि नाका सञ्चालनका लागि प्रयास भइरहेको छ । चिनियाँ टोलीले नेपाल पक्षको भूगोल अवलोकन गरिसकेपछि नेपाल पक्षको प्रतिनिधि पनि चीनतर्फको सडक अवस्था हेर्न खासासम्म पुगेको थियो । जिल्ला प्रशासन कार्यालयको तर्फबाट नाका सञ्चालनको व्यापक प्रयास भइरहेको बताउँछिन्, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे ।

चिनियाँ सरकारी पक्षले नै चासो देखाएर सडकको अवलोकन गर्न आउनुले स्थानीयसँगै व्यपारीहरुमा खुसी पलाएको छ । नाका खुलाउनका लागि चीनले आफ्नो भूगोलतिरको वातावरण तयार भएपछि नेपालतिरको भूगोल अध्ययन गर्न आउनु सुखद पाटो भएको व्यावासायीहरुको बुझाई छ । नाका खुलाउन दुबै पक्षबाट भइरहेको प्रयासबाट व्यापारी÷व्यवसायी हौसिएका छन् ।

चीनले नाका सञ्चालन गर्नकै लागि १० किलो नजिकै भव्य सुख्खा बन्दरगाहा निर्माण गरिरिहेको छ । बन्दरगाह निर्माणको करिब ४५ प्रतिशत काम सकिएको बताउँछन्, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयलय अन्तरगतको नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक, लक्ष्मणबहादुर बस्नेत ।

तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा आउने संकेत मिलेपछि सिन्धुपाल्चोकको बाह्रविसे तातोपानी क्षेत्रका नागरिक खुसी भएका छन् । अहिलेको प्रयासले निरन्तरता पाए आगामी वैशाखसम्ममा तातोपानी नाका सञ्चालन हुनेछ । जसका लागि नेपाल पक्षबाट अझ बढी सक्रियता जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV