१९ भाद्र २०७५, मंगलवार

काठमाडौं, १९ भदौ । केही जलविद्युत आयोजना निर्माणसँगै लोडसेडिङको मारबाट जनताले उन्म्ुक्ति पाएका छन् । अझै भारतबाट विद्युत आयात गर्दै लोडसेडिङको मारबाट राहत पाउनुपर्ने बाध्यता छदैछ । आफ्नै निर्माणाधिन कतिपय आयोजना समयमै नसकिने रोग यथावत् रहँदा सरोकारवाला निकाय जिम्मेवार भएको देखिदैन । आयोजना र स्थानीयको लफडामा निर्माणाधिन मध्यभोटेकोशी अल्झिएको छ ।

यो सिन्धुपाल्चोकमा निर्माणाधिन मध्यभोटेकोशी हो । १ सय २ मेगावाट क्षमताको यो आयोजना अपेक्षाकृत गतिमा अघि बढ्न सकेको छैन । एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने आयोजनाको काम विवादमा रुमल्एिको छ । स्थानीयको अवरोध नै निर्माणमा गतिरोध भएको तर्क आयोजनाको छ भने स्थानीयको गुनासो भने बेग्लैछ । आयोजनाले काममा लापरवाही गरेको स्थानीयले आरोप लगाएका छन् ।

यिनी पदमबहादुर कार्की । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर ५ का कार्कीको घर केहीदिन अघि भत्कियो । सँगै, सडक छेवैका तीन ठूला घर एकैचोटि ढल्यो । घर ढलेपछि कार्कीसँगै उनका छिमेकी बन छेउमा टहरो हालेर बसेका छन् । उनको घर पहिरोले पुरेको वा बाढीले बगाएको होइन । उक्त क्षेत्रमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजनाले सुरुङ खन्दा निस्किएको ढुंगा÷माटो अर्थात् ‘मक’ बस्ती नजिकै थुपारिदियो । जमिनले थेग्न सकेन । जमिन नै भासियो । घर ढल्यो । उनीहरुको बिचल्ली भयो ।

१०२ मेगावाट क्षमताको निर्माणाधीन यो आयोजनाले जहाँ पायो त्यहीं मक थुपारिरहेको छ । कतै बस्ती छेवैमा त कतै सडकको बिचमा । त्यस्तै, भोटेकोशी नदीमा फालेको सयौं टन मकका कारण नदीको बहाव नै परिवर्तन भएको छ । जसकारण नदी आसपासका थुप्रै बस्तीहरु जोखिममा परेको छ । एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने यो आयोजनाको काम अहिले पनि अतिसुस्त गतिमा भइरहेको छ । विभिन्न विवादका कारण आयोजनाको काम बेलाबेला रोकिने गरेको छ । आयोजना र कर्मचारीको मिलेमतो नै समस्या रहेको स्थानीयको आरोप छ ।

आयोजनाले स्थानीय विकासका लागि दिने भनेको रकम नदिएको र स्थानीय सरोकार समितिसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै केही समयअघि स्थानीयले आयोजनाको साइट कार्यालयमा ताला लगाएका थिए । सहमतिपछि ताला खुलेर काम सुरु भए पनि आयोजनाले सहमति कार्यान्वयन नगरेको उनीहरुको भनाई छ । उर्जा संकट समाधानका लागि मध्यभोटेकोशी आयोजना निर्माणमा सरोकारवालाहरुले विशेष ध्यान दिन जरुरीछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV