१८ भाद्र २०७५, सोमबार

प्रकाश सिलवाल

काठमाडौँ,रासस । “हरियो वन, नेपालको धन” भनिए पनि संरक्षण र जागरणको अभावमा वातावरण विनासको असर पर्न थालेपछि सरकारले सबै विद्यालयमा अनिवार्यरुपमा रुख रोप्ने अभियान ल्याएको छ ।

घरपछिको दोस्रो परिवार मानिने विद्यालयलाई हरियाली वातावरणयुक्त बनाउनुपर्ने ठहरसहित नेपाल सरकारले गठन गरेको ३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले यस्तो अभियान अघि सारेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको मूल समारोह समितिको आइतबारको बैठकले साताव्यापीरुपमा मनाइने दिवसका अवसरमा अनिवार्यरुपमा विद्यालयमा वृक्षरोपण गराउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले स्थान अभाव भएका विद्यालयमा गमलामा भएपनि विरुवा रोप्न सम्बद्ध सबैमा पत्राचार र आग्रह गरिएको जानकारी दिनुभयो ।

विद्यालयमा वगैँचा निर्माण गर्न, सरसफाइ गरी प्रदूषण हटाउन र हरियाली इको–क्लब गठन गर्न पनि मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह र सबै विद्यालयलाई आह्वान गरेको छ । विद्यालय र वरिपरिको वातावरण स्वच्छ र हरियाली बनाउन तथा विद्यार्थीप्रति वातावरणबारे व्यावहारिक ज्ञान दिलाउन यो अभियान ल्याइएको हो ।

‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नाराका साथ सरकारले यसवर्ष साताव्यापी रुपमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन सुरु गरेको छ । यही भदौ २३ गते दिवस मनाइन्छ । गत जुन ५ मा मनाइएको विश्व वातावरण दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा रुख रोप्ने अभियानको थालनी गर्नुभएको थियो ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले यो आह्वानले विद्यालयमा हरित क्रान्ति हुने र मुलुक नै वातावरणमय हुने अपेक्षा व्यक्त गर्नुभयो । पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साहले शिक्षा मन्त्रालयको अभियान सकारात्मक भएको भन्दै यसका लागि विद्यालयको व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीलाई प्रकृतिप्रतिको माया, ममता र महत्व बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा रुख रोप्ने तर हेरविचार नगर्ने संस्कार छ, नियमित संरक्षण गर्नुपर्छ । रुख रोप्दा माटो र मौसमअनुसार सही विरुवा पनि छनोट गर्नुपर्छ ।”

जापान र कोरियाका विद्यार्थीले माटोसँगै रमाएर सिक्ने गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले माटोसँग काम गर्ने संस्कृति हराउँदै गएको स्थितिमा शिक्षक र विद्यार्थीलाई परिचालन गर्नुपर्ने बताउनुभयो ।

नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र पौडेलले तराई मधेस र पहाडी जिल्लामा बाहेक अधिकांश विद्यालयमा रुख, विरुवा रोप्ने स्थान भएकाले सरकारले उक्त आह्वान सकारात्मक भएकाले शिक्षक समुदायले साथ दिने बताउनुभयो । हाल विद्यालय जाने उमेरका २ दशमलव ८ प्रतिशत अर्थात् तीन लाख १२ हजार बालबालिका अझै शिक्षाको अवसरबाट वञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV