१८ भाद्र २०७५, सोमबार
  • सुमन कार्की,

पाल्पा, १८ भदौ । नेपालले बेलायती सेनालाई युद्धमा पराजित गरेको खुसियालीमा तानसेनमा सोमबार २ सय औै बिजयोत्सव भव्यरुपमा मनाइएको छ । वि. सं १८७१ पौष देखि १८७२ जेठसम्म भएको युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको स्मरणमा हरेक बर्ष यसरी नै उत्सव मनाइने गरिन्छ ।

तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुईपटकसम्म अंग्रेजसंग भएको युद्धमा नेपालले जित हासिल गरेको थियो । युद्धमा अग्रेजी सेनालाई हराएको सम्झनामा वि.स. १८७६ देखि निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजयोत्सव मनाउने परम्परा चल्दै आएको छ । यस बर्षको दुई सयआंै विजयोत्सवको रथजात्रा सोमबार दिउसो १२ बजेर ४५ मिनेटमा उठाईएको छ । नेपालमा धेरै जात्राहरु हुने गरे पनि भगवती जात्राको महिमा र इतिहास आफैमा अलगै रहेको छ । जस्लाई विजयोत्सव तथा सिन्दुर जात्राकोरुपमा २०० वर्ष अघिवाट नै मनाइदै आएको स्थानीय भरत शर्मा वताउछन् ।

विजयोत्सव स्थल भगवती मन्दिर परिसरमा ध्वजा पताका देखि विभिन्न किसिमका झिलिमिली बत्तिले सिंगारिएको छ । विजयोत्सवको पूर्व सन्ध्यामा तानसेनमा गए राति अतिसवाजी गरिएको थियो । तत्कालीन १९ बर्षीय कर्णेल उजिर ंिसहं थापाले अंग्रेजसंगको युद्धमा जानु अघि युद्धमा विजयी भए प्रत्येक बर्ष भगवतीको रथजात्रा गरी भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरे अनुरुप हरेक बर्ष भगवती जात्रा मनाइदै आएको जानकारहरु बताउछन् ।

२ पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि कर्णेल उजिर थापाले वि.स. १८७२ देखि ७६ सम्म गजुर सहितको ३ तले मन्दिर निर्माण पुरा गरेपछि वि.स. १९७६ साल देखि तानसेनमा बिजयोत्सव मनाउन थालिएको हो । यो विजय उत्सव प्रत्येक बर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन मनाउने परम्परा रहेको भगवती गुठीका कार्यवाहक अध्यक्ष भीमसेन कार्कीको भनाई छ ।

नेपाली सेनाले बहादुरीका साथ लडेर अंग्रेजलाई पराजित गरेकोले पाल्पाली जनताको साथमा नेपाली सेना,जिल्लाका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले हर्षोल्लासका साथ यो विजयोत्सव मनाउदै आएको छ ।

LIVE TV