१८ भाद्र २०७५, सोमबार

बागलुङ । जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ ।

व्यवसायी बलबहादुर खड्का र सुवास आचार्यले रू १६ लाखको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ । उद्योगमा पाँच जनाले रोजगारी पाएका छन् । दैनिक झण्डै २०० चप्पल उत्पादन हुने गरेको सञ्चालक आचार्यले बताउनुभयो । पहिलो चरणमा महिलालाई लक्ष्य गरी चप्पल उत्पादन गर्न थालिएको छ । “सेवा र लगानी थप्ने योजना छ,” उहाँले भन्नुभयो ।

उद्योगमा लगानी थपेर रु ५० लाख पु¥याउने लक्ष्य रहेको आचार्य बताउनुहुन्छ । धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई लक्ष्य गरी सो उद्योग सञ्चालनमा ल्याइएको हो । सदरमुकाममा कक्ष राखेर चप्पल बिक्री गर्न थालिएको छ । “माग अनुसार उत्पादन र बजार विस्तार गर्ने योजना बनाएका छौँ,” अर्का सञ्चालक खड्काले भन्नुभयो । यसअघि सामान्य चप्पलसमेत बाहिरबाट आयात गरिँदै आएको थियो । यहाँको उत्पादन पोखरासम्म बिक्रीका लागि पठाउने गरिएको छ । भारतीय सेनाबाट अवकाश प्राप्त खड्काले स्वेदश फर्केर उद्योग खोल्नु भएको हो । अर्का लगानीकर्ता आचार्य पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV