१८ भाद्र २०७५, सोमबार
  • अनुला महर्जन,

काठमाडौं, १८ भदौ । म्यानमारको एउटा अदालतले गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको अभियोगमा समाचार संस्था रोयटर्सका दुईजना पत्रकारलाई सात वर्ष जेल सजाय सुनाएको छ ।

रोहिंग्यामाथिको हिंसाबारे अनुसन्धान गर्ने क्रममा उनीहरूले गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको अदालतको ठहर छ । प्रहरी अधिकारीहरूले दिएका दस्तावेज लिइरहेका बेला पत्रकारद्वय वा लोन र ज स ऊलाई पक्राउ गरिएको थियो । निर्दोष भएको भन्दै दुवैजनाले आफूहरूलाई प्रहरीले फसाएको जिकिर गरेका छन् ।

उक्त मुद्दालाई म्यानमारमा प्रेस स्वतन्त्रताको एउटा परीक्षणको रूपमा हेरिएको छ । अदालतको आदेशपछि पत्रकार वा लोनले उनलाई कुनै डर नभएको र केही गलत पनि नगरेको बताएका छन् । उनले आफू न्याय, लोकतन्त्र र स्वतन्त्रतामा विश्वास राख्दै आएको बताए । ती दुवै पत्रकार सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन् ।

रोयटर्सका प्रधान सम्पादक स्टेफन एड्लरले भने आज म्यानमार, रोयटर्सका पत्रकारहरू वा लोन र ज स ऊ तथा प्रेस स्वतन्त्रताका लागि एउटा दुःखद दिन भएको जनाएका छन् । दुवैजना म्यानमारका नागरिक हुन् जसले अन्तर्रा्ष्ट्रिय समाचार संस्थाका लागि काम गर्दै आएका छन् । फैसला सुनाएका रङ्गुनस्थित अदालतका न्यायाधीशले दुवै पत्रकारले राज्यको हितमा असर पु¥याउन चाहेको र यही कारणले उनीहरू राज्यको गोपनीयतासम्बन्धी कानून अनुसार दोषी पाइएको बताएका छन् ।

३२ वर्षीय वा लोन र २८ वर्षीय ज स ऊले उत्तर रखाइन राज्यमा पर्ने एउटा गाउँमा सेनाले १० जना पुरुषको हत्या गरेकोबारे प्रमाण सङ्कलन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV