१८ भाद्र २०७५, सोमबार
  • केशवराज पौडेल

काभ्रे  । उपत्यकामा साँझ ८ बजेपछि टिपर प्रवेशमा प्रशासनले रोक लगाएसँगै त्यसले चौतर्फी असर देखिन थालेको छ । साँझ ८ बजे उपत्यका छिरी सक्ने र बिहान ५ बजेनै उपत्यकाबाट बाहिर निस्कनु पर्ने बाध्यताको कारणले टिपर चालकहरूमा अनिदो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

राजमार्गमा दिउँसो टिपर संचालन हुँदा नागरिकबाट ओभर लोड, पानी चुहाएर गुडाएमा कारबाही हुने भए पनि रातको समयमा त्यसको कुनै पनि अनुगमन समेत हुन सकेको छैन । दुर्घटना न्यूनिकरणका लागि भन्दै गृहमन्त्रीको निर्देशनमा प्रशासनले राजधानी प्रवेशमा रोक लगाएसँगै दुर्घटनाको जोखिम बढेको टिपर चालक बताउँछन् ।

दिउँसो गर्मी हुने क्रसर उद्योगमा रातभर टिपर चलाउँदा आफ्नो घरपरिवार समेत भेट्न नपाएको हप्तौँ भैसकेको चालकहरू बताउँछन् । आफू चालक भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिनको लागि काठमाण्डौमा डेरा खोजेर बसे पनि साउनदेखि छोराछोरीलाई भेट्न समेत नपाएको गुनासो चालकहरूको छ ।

राती टिपर संचालन भएपछि शहरहरुमा ध्वनि प्रदूषण तथा वायु प्रदूषण बढेको स्थानीय व्यापारीहरू बताउँछन् । राती ९ बजेसम्म व्यापार गर्ने बनेपाका व्यापारी टिपरको दोहोरो लाइनका कारण व्यापार चौपट नै भएको बताउँछन् ।

एकै पटक धेरै टिपर आउँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या सृजना भए पनि सरकारी निर्णयको सहजै कार्यान्वयन गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव निरीक्षक(सई) राजेश दाहालले बताए ।

रातको समयमा मात्रै टिपर संचालन भएकै कारणले केही व्यवसायीहरूले गाडी घरमै थन्काएका छन् भने केहीलाई बैंक तथा सहकारीले नियन्त्रणमा लिएर स्टेरिङमा ताला मारेका छन् । तर रातको समयमा मात्रै टिपर संचालन भएकोमा जनस्तरमा भने स्वागत भएको छ । काभ्रेमा दैनिक १ हजारभन्दा धेरै टिपर संचालन हुने गरेको छ ।

काभ्रे लगायतका जिल्लाहरूबाट विम्स्टेकको लागि भन्दै २ सय १४ टिपरलाई २४ घण्टा नै  संन्चालनको अनुमति दिएसँगै कसैलाई काखा र कसैलाई पाखाको व्यवहार सरकारले नगर्न व्यवसायीहरूले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV