१८ भाद्र २०७५, सोमबार
  • प्रकाश सिक्देल

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकी संहिता संशोधन गर्नुपर्ने बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले आज (सोमबार) बिहान गरेको पत्रकार भेटघाटमा बोल्दै सभापति देउवाले मुलुकी संहिताको धेरै विषयमा विरोध भइरहेको भन्दै यसलाई संशोधन गर्दै अघि बढ्नुपर्ने बताए ।

सभापति देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकहरूले देशव्यापी गरिरहेको आन्दोलनमा काँग्रेसको समर्थन गरेको समेत बताए । चिकित्सकहरूका जायज माग सम्बोधन हुनुपर्ने देउवाको भनाई छ । सभापति देउवाले मुलुकी संहिता सबैको छलफल गरेर नै ल्याए पनि अहिले विरोध सिर्जना भएकोले समय सापेक्ष अनुसार संशोधन गर्नुपर्ने प्रतिक्रिया दिए ।

सभापति एवं म पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारका पछिल्ला गतिविधि सही ढङ्गले अघि बढ्न नसकेको बताए । देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक फरक संगठन भएकोले एकलाई अर्कोसँग जोड्न नहुने देउवाको तर्क छ ।

यस्तै उनले संयुक्त सैन्य अभ्यासका बारेमा सबैको सहमति नभएकोले छलफलपछि मात्रै टुंगो लाग्ने बताए । सभापति देउवाले देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीको पहिचान गरी कारर्वाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV