१८ भाद्र २०७५, सोमबार
  • दीपक भट्ट

रामेछाप । बर्षौदेखी खानेपानीको चरम समस्या भोग्दै आएका रामेछापका नागरिहरुले यस वर्ष पनि खानेपानीको समस्याबाट मुक्ति पाउन भने सकेनन् ।

गाउँमा भएका खानेपानीको मुहान एकपछि अर्को गर्दै सुक्दै गएपछि रामेछाप नगरपालिका वडा नं-९ सिम्पानीमा रहेको एउटा पँधेरामा उपभोक्ताहरूले पानी चोर्ने डरले धारामा नै ताल्चा ठोकेर खानेपानीको जोहो गर्ने गरेका छन् । त्यस गाउँमा खानेपानीको वैकल्पिक मुहान नभएकाले भएको पानी जम्मा गरेर सामूहिक रूपमा सबै घरहरूमा वितरण गर्दै आएका छन् ।

विगत १० वर्षदेखि खानेपानीको मूल नफुटेपछि रामेछापका अधिकांश नागरिकहरूले खोला वा जमेको प्रदूषित पानी पिउन बाध्य भएका छन् । प्रदूषित पानी पिउँदा प्रत्येक महिना बिरामी परेर अस्पताल भर्ना हुने उपभोक्ताहरूको संख्या दैनिक रूपमा बढ्दै गएको छ । हिउँदको समयमा खानेपानी अभावकै कारण बस्ती नै छाडेर खोला किनारमा आएर बसोबास गर्दै आएका उपभोक्ताहरू वर्षातको समयमा पुनः घरमा फर्किएका उनीहरूले खोलामा बगेको र खाल्डाखुल्डीमा जमेको प्रदूषित पानी पिउँदा बिरामी पर्नेको संख्या बढेको हो ।

बर्षातको प्रदूषित पानी पिउँदा सयौँ उपभोक्ताहरू बिरामी परेका छन् । प्रदूषित पानी पिउँदा घाँटी दुख्नुको साथै रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा चल्ने, झाडापखाला लाग्ने र छाती दुख्ने जस्ता समस्याबाट ससाना बालबालिकाहरू देखी वृद्धसम्मलाई सताउने गरेको छ । प्रदूषित पानी सेवन गरेका कारण अहिले जिल्लामा रहेका जिल्ला स्वास्थ्य कार्यालय रामेछाप, तामाकोशी सहकारी अस्पताल मन्थलीमा दैनिक बिरामी भएर भर्ना हुनेको संख्यामा वृद्धि भएको छ ।

खानेपानी अभावका कारण गाउँका नागरिकहरूले घरमा पाल्दै आएका चौपायाहरू समेत पाल्न छाडेका छन् । पहिला पहिला घरमै ५ देखी १० वटासम्म गाई, गोरु, भैँसी र बाख्रा पालन गर्दै आएका किसानहरूले अहिले क्रमशः पाल्न छाड्दै आएका छन् ।

पानीको कुनै श्रोत नभएका कारण बगेको पानी उपभोग गर्दा झाडापखाला लागेपछि आफ्नो घर मात्र नभएर वरपरका छिमेकीहरू समेत अस्पताल भर्ना भएको स्थानीय शिशिर खड्गीले बताए । उनले भने, ‘खानेपानी अभाव भएपछि भएको पानी राती चोरी हुने होकी भन्ने डरले उपभोक्ताहरूले धारामा ताल्चा लगाएर पानीको जोहो गर्ने र उक्त पानी सबै उपभोक्ताहरूलाई समानान्तर ढंगले वितरण गर्ने प्रणाली शुरु गरिएको छ । धारामा लगाउने ताल्चा दैनिक रूपमा घरघरमा रोटेशनमा लगाउने गरिएको छ ।’

प्रदूषित पानी पिउँदा वर्षेनी बिरामी परेर अस्पताल भर्ना हुनेको संख्या जस्ताको तस्तै रहेकोले सम्बन्धित निकायले उपभोक्ताहरूलाई पिउने पानीको व्यवस्था गर्नुपर्ने र पिउने पानी निर्मलीकरण गरेर पिउन डा.प्रकाशप्रसाद शाहले आग्रह गरेका छन् ।

LIVE TV