
काठमाडौँ। विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा भएका गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्था प्रेस स्वतन्त्रता विरुद्ध रहेकाले ती कानुनी दफालाई संशोधन गरिनेमा जोड दिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पम्फा भुसालले प्रेस स्वतन्त्रता सुनिश्चित गरेर मर्यादित पत्रकारिता बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । ‘‘लोकतन्त्रको मूल्य र मान्यता नै प्रेस स्वतन्त्रता हो ’’ उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता चाहिन्छ । त्यसैले प्रेसलाई सङ्कुचन पार्ने खालको कानूनलाई संशोधन गर्दछौ ।’’
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले संविधानमा व्यवस्था भएअनुसारकाको प्रेस स्वतन्त्रतासँग बाँझिएका कानून खारेज गर्नुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता सम्बन्धी अलग्गै कानून बनाएर यस क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने धारणा व्यक्तगर्नुभयोे । उहाँले पत्रकारिता क्षेत्रमासमेत विकृति देखिएकाले पत्रकार आचारसंहितालाई प्रभाबकारी बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेको नयाँ कानूनले प्रेस स्वतन्त्रतालाई बाँधेकाले त्यसलाई संशोधन गराउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अन्य देशका कानून र सर्वोच्च अदालतको नजिरबमोजिम उक्त संहिता संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले अहिलेको कानूनले प्रेस स्वतन्त्रता विरुद्ध कुनै घटना भए राज्यले नै क्षति व्यवहोर्नुपर्ने बताउनुभयो ।