१७ भाद्र २०७५, आईतवार

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) पार्टीको कार्य प्रकृति उच्छश्रृङ्खल र दिशाविहीन रहेको भन्दै सो समूह परित्याग गरी केही नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

नेकपा प्रवेश गर्नेहरुमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला सङ्ग्रौला, उपत्यका समिति सदस्य रामप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सदस्यहरू डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौँ जिल्ला क्षेत्र नं. २ का माधव लामिछाने र विष्णु तिमल्सेना रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सो समूहका उपत्यका समिति सदस्य घिमिरेले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि छुट्टै पार्टी गठन गरेको तर अहिले सो पार्टी दिशाविहीन हुँदै सङ्घीयता र गणतन्त्रको विरुद्धमा गतिविधि गर्न लागेको हुनाले पार्टी छाडेको बताए।

शान्तिप्रक्रिया र समृद्धिको बाटोमा हिडेको नेकपामा आफूहरू आवद्ध भएको बताउँदै उनले अहिले सशस्त्र क्रान्ति भन्दा पनि आर्थिक समृद्धिको आवश्यकता रहेको बताए ।

प्रचण्ड निवासमा शनिवार भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरूले एमाले र माओवादी केन्द्रबीचको एकताले कम्युनिस्टहरुको बीचमा एकताको सन्देश दिएको धारणा राखे । विप्लव समूहको नेतृत्वले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने कार्य गरेको टिप्पणी गर्दै उनीहरूले अबको समाजवादी क्रान्तिको नेतृत्व अध्यक्ष प्रचण्डबाट मात्र सम्भव देखिएकाले आफूहरू नेकपामा प्रवेश गरेको बताए ।

नवप्रवेशीलार्ई अध्यक्ष प्रचण्डले स्वागत गर्दै भने–‘लामो समय जनयुद्ध गरेर एउटा विचारको सृजना गरी शान्ति प्रक्रियामार्फत त्यसको अवतरण भएको हो, लामो सङ्घर्ष र बलिदानपछि यो देशमा गणतन्त्र आएको यसलाई अब कसैले भत्काउन सक्दैन ।”

क्रान्ति भइसक्यो अब देश निर्माणका लागि सामाजिक न्याय र समृद्धिको प्रक्रियाबाट समाजवाद निर्माण गर्ने बताउँदै उनले यसका लागि सबै कम्युनिस्ट गोलबन्द हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
LIVE TV