१६ भाद्र २०७५, शनिबार

सुनसरी, १६ भदौ । पूर्वी तराईमा सर्पको जोखिम बर्षेनी बढ्दो छ । विशेष गरी गर्मी र पानीका कारण तराईमा सर्पले डसेका विरामीको संख्या बढिरहेको छ । तर सवै तिर उपचारको लागि एन्टी स्नेक भेनम पर्याप्त नहुँदा जोखिम झनै बढेको छ ।

इटहरीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा यो बर्षको पहिलो चार महिनामा मात्रै ८ सय १० बढी सर्पले डसेका विरामीहरु उपचारका लागि आए । पूर्वी तरामा गर्मी बढि हुने समय सुरु भएसँगै सर्पले डसेका विरामीहरु अत्यधिक हुने गरेको उपचार केन्द्रले जनाएको छ ।सर्पले डसेर ल्याएका ८ सय १० बढि विरामीलाई सामुदायीक सर्पदंश उपचार केन्द्रले सफल उपचार गरी घर पठाएको छ । अन्यत्रका अस्पताल तथा सर्पदंशका उपचार हुने ठाउँमा एन्टी स्नेक भेनम औषधिको अभाव भएपछि विरामीहरु यहि केन्द्रमा रेफर गर्ने गरिएको छ ।

विराटनगर र धरानका अस्पतालले पनि यहाँ उपचार गर्न रेफर गर्ने गरेका छन् । नेपाली सेनाको पूर्वी पृतना मुख्यालयको प्राविधिक सहयोगमा यो उपचार केन्द्रले सेवा दिँदै आएको छ । ५ दिन अघि मात्रै विषालु सर्पले डसेपछि मोरगं कोशीहरैँचाका प्रदिप घिमिरेको अवस्था अत्यन्तै चिन्ताजनक थियो । ढिला गरी केन्द्र ल्याईएका घिमिरेलाई नेपाली सेनाको प्राविधिक टोलीले बल्ल तल्ल बचाउन सफल भयो । १२ बर्षीय प्रदिपको नयाँ जीवन पाएपछि आफन्त उपचार प्रति खुसी छन् ।

सर्पले टोकेपछि मट्टितेल र खुर्सानी दल्न थालेपछि प्रदीपको उपचारमा ल्याउन ढिला भएको थियो । प्रदीपको परिवार जस्तै अन्य मानिसहरु पनि घरेलु उपचार गर्ने गरेका कारण उपचारमा समस्या हुने गरेको सामुदायीक सर्पदंश उपचार केन्द्रका प्राविधिक टोपराज काफ्लेको भनाई छ ।

सर्पले डसेपछि उपचार गर्ने पुरानै बानी सवैका लागि घातक हुने गरेको सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवश पोख्रेल बताउनुहुन्छ । तर उपचार केन्द्रमा ल्याएका जुनसुकै विरामीलाई भने नेपाली सेनाको प्राविधिक टोलीले बचाउन सफल भएको उहाँले बताउनुभयो ।

२०६९ सालमा समुदाय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने गरी यो उपचार केन्द्रको स्थापना भएको हो । स्थापनादेखि हाल सम्म ८ हजार दुई सय ८७ जनाले सेवा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV