१६ भाद्र २०७५, शनिबार
  • यामराज कटुवाल,

दैलेख, १६ भदौ । पहाडको उकालो चिसो लेक लाग्ने ४ हजार २ सय मिटर अग्लो स्थानमा रहेको दैलेखको महावुधाममा पुगेर आराध्यदेव शिवको दर्शन गर्न तीर्थालुहरु जस्तोसुकै जोखिम मोल्न तयार हुन्थे । तर सडक सुविधाले महावुधामलाई जोडेपछि तीर्थालुको संख्या पनि दिनानुदिन बढ्न थालेको छ ।

दैलेखको महावु गाउँपालिका, नौमूले गाउँपालिका र कालिकोटको महावै गाउँपालिकाको सीमानामा पर्ने महावुधाममा पैदल यात्रासंगै सवारी साधन प्रयोग गरेर सजिलै पुग्न सकिने भएपछि तीर्थयात्रीको संख्या बढदै गएको छ । यो बर्ष दैलेख, सर्खेत, कालिकोट, नेपालगंज, काठमाडौं र भारतबाट १५ हजार बढी तीर्थयात्रीहरु महावुधाम पुगेका छन् ।

तीर्थालुहरु लिएर यो बर्ष १ सय ५० साना जीपहरु महावुधाम पुगेका थिए । महावु पुगेका यात्रुहरु उचित बासस्थान नभएर यो बर्ष पनि चिसो लेकमा रातभर जाग्राम बसेका थिए भने सवारी साधनमा गएका यात्रुहरु सवारी साधनमै रात बिताउन बाध्य बनेका थिए । पुरुष र महिलाहरुको बरावरी उपस्थिति भएको धार्मिक मेलामा शौचालयको व्यवस्थापन, खानेपानी र बासको व्यवस्थापन हुनुपर्ने माग तीर्थयात्रीको छ ।

रमणीय पाठन लेक, बुकी झार, उच्च भागमा पनि समथल भू भागको मनोरम दृश्यावलोकन र एउटा मात्र वर मागे पूरा हुने विश्वासका कारण महावु धाममा धार्मिक पर्यटकहरुको चाप बढ्दै गएको छ । एक हजार बर्ष पहिले दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राहमणका छोरा पाटनमा भैसी चराउन गएका बेला ढुंङ्गामा सुतेको अवस्थामा भगवान शिवको दर्शन पाएपछि उक्त ढुंङ्गामा दिनहुँ दुध चढाएको र पछि शिवलिङ्ग उत्पति भएको किंवदन्ती छ । अहिलेपनि एउटामात्र वर मागे पूरा हुने विश्वासले मानिसहरु दर्शनका लागि आउने गर्दछन् । देवाधिदेव महादेवको उत्पति भएको कैलाश स्थानकारुपमा महाबुधाम प्रख्यात छ । महावुधाम पुग्दा कैलाश पर्वतमा पुगेको झै महसुस हुने गरेको तीर्थयात्रीहरुको अनुभव छ ।

दैलेखदेखि महावुसम्म सहज यात्रा गर्नेहरुले तीन दिनको यात्रा तय गर्नु पर्ने हुन्छ । निकै जोखिमपूर्ण र उकालो बाटोमा खुट्टा चिप्लिए मानिस नभेटीने भिर छ तरपनि भगवान शिवको पूजापाठ गर्नको लागि महाबुधाममा हजारौं मानिसहरुको भीड लाग्ने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV