१६ भाद्र २०७५, शनिबार

काठमाडौं, १६ भदौ । नेपालीहरुमा विद्युतीय गाडीको मोह बढ्न थालेको छ । देशका उच्चपदस्त ब्यक्तिहरुले नै विद्युतीय गाडीको प्रयोग गर्न थालेपछि सर्बसाधारणहरुमा यसको प्रभाव पर्न थालेको हो । पछिल्लो समय राष्ट्रपति र उर्जामन्त्रीले विद्युतीय गाडी खरिद गरेसँगै यसको मागमा पनि बृद्धि हुन थालेको हो ।

गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ६० लाखको विद्युतीय कार खरिद गरिएको छ भने साता दिन नवित्दै उर्जामन्त्री बर्षमान पुनले पनि विद्युतीय गाडी खरिद गरिसक्नुभएको छ । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अर्थ सचिव रामेश्वर खनालले पनि एकबर्ष अघि नै विद्युतीय गाडी खरिद गर्नुभएको हो । यसअघि उर्जा मन्त्रालयले जारी गरेको स्वेतपत्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई बृद्धि गरी आगामी पाँच वर्षभित्र ५० प्रतिशत पु¥याउने लक्ष्य उल्लेख छ । विद्युतिय सवारी बारे जनताबीच जनचेतना फैलाउने उद्देश्यले राष्ट्रपति र उर्जामन्त्रीका लागि विद्युतिय गाडी खरिद गरिएको हो ।

नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव झेलेको नेपालले मुलुकमै रहेको उर्जालाई उपयोग गरी विद्युतीय गाडी संचालनको लागि सरकारले आयातमा विभिन्न सहुलियत प्रदान गरेको छ । सरकारले गाडीको आयातमा लाग्ने भन्सार, अन्तशुल्क, वीमा लगायतमा सहुलियतको व्यवस्था गरेको छ । विद्युतीय गाडीको खपत बढाएर पेट्रोलियम पदार्थबाट ठूलोमात्रामा हुँदै आएको व्यापार घाटा कम गर्ने सरकारको लक्ष्य छ ।

नेपालमा हालसम्म विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समयमा काठमाडौंमा विद्युतीय बस ल्याउन विभिन्न कम्पनीले तीव्र तयारी गरिरहेका छन् । मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको लगायतका कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् ।

उर्जा मन्त्रालयले विद्युतीय सवारीको संख्यामा बृद्धि गर्नको लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिरहेको छ । नेपालका सडकहरुमा विद्युतीय सवारीको प्रयोग बाक्लो हुने हो भने नेपालको व्यापार घाटा घटने पक्का छ । त्यसैले पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV