१६ भाद्र २०७५, शनिबार

रामेछाप । बर्षातका कारण उमाकुण्ड गाउँपालिका तहस नहस भएको छ । अत्याधिक वर्षातका कारण लेकाली क्षेत्रमा पर्ने उक्त पालिकाका अधिकांश वडा सडक सञ्जालबाट टुटेका छन् ।

बिगतका वर्षहरुमा भन्दा अत्याधिक वर्षात भएका कारण उमाकुण्ड गाउँपालिकाका–७ वटा वडामा सञ्चालन भएको यातायातका साधन पूर्णरुपमा बन्द भएका छन् । बारी र कान्लाहरु क्षत विक्षत भएर लडेका छन् । भुकम्प प्रभावित उक्त पालिकामा वर्षातको सबैभन्दा बढी असर सडक क्षेत्रमा परेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

साबिकको गुम्देल, वाम्ती, कुवुकास्थली, प्रिती गाविसका २ भुजी र गुम्तेश्वर गरी ७ वटा वडा रहेको उक्त गाउँपालिकामा पुग्नको लागि यातायातका साधनहरुले हिउँदको समयमा पनि कठिनपूर्ण यात्रा गर्दै आएका थिए । तर विगतमा जिल्ला विकास समिति र हाल गाउँपालिकाको अगुवाईमा उक्त पालिकासम्म पुग्ने सडक हरेक वर्ष मर्मत गर्दै आएको थियो ।

मर्मत गरेसँगै सडकको स्तरउन्नतीवाट आफ्नो सिङ्गो गाउँपालिकालाई नै खुसी लागेको भएता पनि यसवर्षको वर्षातले आफ्नो गाउँपालिकाको लागि अभिषाप सावित भएको उनको गुनासो रहेको छ ।

वर्षातले मोटरेवल सडक र मुल बाटो समेत क्षतविक्षत भएपछि गुम्देल देखि पालिकासम्म सेवा लिन आउने सेवाग्राहीहरु समेत प्रभावित भएका छन् । जसका कारण उनीहरुले पैदल नै हिडेर कष्ठपूर्ण तरिकाले यात्रा गर्नु परेको छ ।

वर्षातले काठमाण्डौं देखि सदरमुकाम मन्थली हुँदै पालिकासम्म आउने यातायातका साधन लाई पनि अवरुद्ध पुर्याएको छ । जसले सबैखालका यातायातका साधनहरुले गोकुलगंगा गाउँपालिकाको वडा नं २ ठोसे बजारमै आफ्नो यात्रालाई सिमित गर्नु परेको छ ।

गाउँपालिका र वडाहरुमा यातायातका साधनहरु जान नसकेपछि सिङ्गो गाउँपालिकाका नागरिकहरुले मोटरचढ्नको लागि ठोसे बजारसम्म आउनुपर्ने अवस्था सिर्जना भएको बुधबार मात्र त्यसक्षेत्रको यात्रा गरेर मन्थली आइपुगेका पत्रकार सुमित श्रेष्ठले बताए ।

यातायातका साधनहरु चल्न नसक्दा सबैभन्दा बढी भुकम्प पीडितहरु प्रभावित भएका छन् । पुनर्निमार्णका बाँकी कामहरु सबै अबरुद्ध छन् । लाभग्राहीहरुले घर वनाउनको लागि काठ, ढुङ्गा र वालुवा समेत ढुवानी गर्न सक्ने अवस्था छैन् । यसवाट गाउँपालिका आफै अन्यौलमा परेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

हरेक वर्ष सडक मर्मत र निर्माणको नाममा करोडौं रुपैयाँ खर्च गर्दै आएकोमा गाउँपालिकाले गत वर्ष पनि यस क्षेत्रको सडकमा निकै रकम खर्च गरेको थियो । यसवर्ष पनि पालिकाले पहिलो प्राथमिकता सडकलाई दिनुपर्छ भन्ने मान्यताका साथ ठूलै रकम विनियोजन गरेको थियो ।

तर वर्षातले यतिधेरै क्षति पुर्याएको कि जुन क्षतिलाई पुरा गर्नको लागि पालिकाको सिङ्गो बजेट खन्याउँदा पनि पुग्ने अवस्था नभएको पालिकाका अध्यक्ष शेरबहादुरले बताए ।

सडक बिग्रिएकै कारण आफ्नो पालिकाको दिर्घकालिन बिकासमा निकै असर पुगेको उनको भनाई रहेको छ । आफ्नो कार्यकालमा जिल्लाका ८ वटा पालिका मध्ये अब्बल पालिका बनाउने सोचमा भएको भएपनि वर्षातले सिङ्गो पालिकानै तहसनहस बनाएपछि यसको सुधारको लागि आफुले सोच्नै नसकेको पनि उनले गुनासो गरे ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV