१६ भाद्र २०७५, शनिबार

काठमाडौं । एशिया कप छनोट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा भारी वर्षाका कारण पानी जमेपछि खेल सुरु हुन ढिला भएको हो । वर्षा रोकिएपछि अहिले मैदानको पानी फाल्ने काम भइरहेको छ ।

नियमित तालिका अनुसार खेल नेपाली समयअनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने थियो ।  यसअघिका दुई खेलमा लगातार पराजय ब्यहोरेको थियो । जसका कारण फाइनलमा पुगेर उपाधि जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जसरी पनि जित्नुपर्नेछ । नेपालले यसअघि ओमानसँग ७ विकेट र युएईसँग ७८ रनको पराजय ब्यहोरेको थियो ।

५० ओभरको खेलमा नेपालले मलेसियासँग हारेको छैन । अहिलेसम्म यी दुइ टिम छ पटक खेलेका छन् । पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्रीमा मलेसियासँग खेलेको थियो । वर्षाले प्रभावित त्यस खेल नेपालले डिएल मेथडमा ३६ रनले जितेको थियो । त्यस्तै सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो ।

२०१० को एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो । २०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV