१५ भाद्र २०७५, शुक्रबार

काठमाडौं, १५ भदौ । गाईजात्रा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइन्छ । नेवार संस्कृतिबाट सुरू भएको यस जात्रा नेपाली समाजमा व्यङ्ग्य गर्ने दिनहरुको रूपमा समेत परिचित छ । यो पर्व सुरु भएपछि करिव हप्तौ दिनसम्म हास्यव्यङ्ग् कलाकारहरु निकै व्यस्त हुन्छन् । गाइजात्राकै अवसर पारेर हास्यव्यङ्ग कलाकारहरुले सरकार, राजनीतिक दल र नेताहरुलाई सक्दो व्यङ्ग कस्न पछि पनि पर्दैनन् ।

सधा झै यो वर्ष भने मन भएर पनि पुराना पुस्ताहरुका हास्यव्यङ्ग् कलाकारहरु एकै ठाउँ भेला भएर भने व्यङ्ग गर्न पाएनन् । केही हास्यव्यङ्ग कलाकारहरु भेला भएर कहि कतै फ्याटफुट आफ्ना प्रस्तुति दिए पनि पुरानो जम्बो टोलीलाई नियमित दर्शकले धेरै सम्झे । सधै प्रज्ञा प्रतिष्ठानमा चल्ने गाइजात्रा विशेष कार्यक्रम यो वर्ष भने ठाउँ अभावले गर्दा हुन नसकेको बरिष्ठ हास्यव्यङ्ग कलाकार मनोज गजुरेल बताउछन् ।

कलाकारिताको विकाश र विस्तारसँगै हाँस्य ब्यङ्ग्य क्षेत्र अलि फरकिलो बन्दै गएको छ । यस क्षेत्रमा प्रवेश गर्नेहरुको संख्या बढ्दो पनि छ । प्रविधिको विकाससँगै अहिले हाँस्यव्यंग्य क्षेत्रमा नयाँ–नयाँ अनुहारहरू देखापर्न थालेका छन् । जस्ले विभिन्न माध्यम सानो पर्दा , सामाजिक सञ्जाल र स्टेज कार्यक्रमहरु मार्फत दर्शकहरूलाई मनोरञ्जन दिएर गाइजात्राको महत्वलाई थाँति राखेका छन् ।

पछिल्लो समय राजाराजेन्द्र पोख्रेल, दिनेश काफ्ले, शुभोद्ध गौतम, सुमन कार्की लगायतका केही नयाँ पुस्ताहरु यस क्षेत्रमा आकर्षित भएका छन् । हाँस्य प्रस्तुति र स्टेज कार्यक्रमहरुबाट चर्चामा आएका उनीहरु युवापुस्ता माझ निकै लोकप्रिय समेत छन् । जस्ले पछिल्लो समय नयाँ शैलीका प्रस्तुतिहरु दिएर हाँस्यव्यङ्ग क्षेत्रमा बेग्लै छाप छोडिरहेका छन् ।

मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आएको नयाँ संहिता भदौ १ गतेदेखि लागू भएको अवस्थामा यसपटकको गाईजात्रामा हाँस्यव्यङ्गले कस्तो रुप लिने हो भन्ने अपेक्षा पनि धेरैले गरेका थिए । नयाँ संहिताले गरेको व्यवस्थाबारे धेरै कलाकर्मीहरु नै असमञ्जसमा परेको अवस्थामा प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण गतिलो वहाना बनेको चर्चा पनि यस क्षेत्रमा नै हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV