१५ भाद्र २०७५, शुक्रबार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनलार्इ सम्बोधनको क्रममा बिमस्टेक सदस्य राष्ट्रहरूबीच ‘कनेक्टिभिटी’ सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताउदैँ विभिन्न प्रस्ताव अघि सारेका हुन् ।

आगामी महिना भारतमा संयुक्त सैन्य अभ्यास, जलवायु परिवर्तनको असरसँग लड्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन, अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन, भारतका विभिन्न विश्वविद्यालयमा सदस्य राष्ट्रका लागि छात्रवृत्ति, ऐतिहासिक र सांस्कृतिक सम्पदा पुनरोत्थानका लागि सहयोग, महिला सांसदहरूका लागि विशेष फोरम स्थापना लगायतका अफर मोदीले गरे ।

उनले  पुरानै शैलीमा छिमेकी देशसँग काँधमा काँध मिलाएर हिँड्न भारत तयार रहेको समेत बताए । उनले भने, ‘बिम्स्टेकको सम्मेलन आयोजना गर्नुभएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली जनतामा धन्यवाद दिन चहान्छु ।, मोदीले थपे, ‘प्रधानमन्त्री ओलीसहित भारत काँधमा काँध मिलाएर हिँड्न तयार छ ।’

उत्तरमा हिमालयदेखि दक्षिणमा बंगालको खाडी तथा हिन्द महासागरसम्म फैलिएका बिमस्टेक सदस्यहरू सबै विकासशील राष्ट्र रहेको भन्दै उनले आ-आफ्नो देशमा शान्ति, सुरक्षा र खुशी सबैको प्रमुख एजेन्डा भएको बताए । ‘यो क्षेत्रको विकास हामी सबैको लागि जरुरी छ । सबैभन्दा ठुलो कुरा कनेक्टिभीट हो । पिपुल टु पिपुल कनेक्टिभिटी अझै महत्वपूर्ण हो’। मोदीले भने, ‘हामीबीच सम्पर्क बढाउनका लागि विभिन्न क्षेत्रमा सहकार्य जरुरी छ । हामी सबै देश क्लाइमेट चेन्जको संकटसँग जुधिरहेका छौँ । डिजिटल कनेक्टिभीटिमा पनि हामीले मिलेर काम गर्नुछ ।

उनले यस क्षेत्रका सातवटै देशहरु विकासशिल देश भएकोले सबैको प्राथमिकता शान्ति, समृद्धि र विकास भएको उल्लेख गरे । “भारतको ‘छिमेकी पहिलो’ प्राथमिकताको नीति यसै क्षेत्रका लागि हो”, उनले भने , “हामी सबै विकासशील देश हौँ, शान्ति र समृद्धि सबैको प्राथमिकता हो तर आजको अन्तसम्बन्धित विश्वमा यो काम एक्लैले गर्न सकिँदैन, सबैको साथ र सहयोग आवश्यक छ ।” व्यापार, अर्थतन्त्र, यातायात, डिजिटल र जनस्तरको सम्बन्धको सम्पर्क सञ्जालमा काम गर्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो । भारतीय प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य मुलुकका महिला सांसदबीच सम्पर्क सञ्जाल बनाउन आवश्यक रहेकामा पनि जोड दिए ।

उनले डिजिटल सम्पर्क सञ्जालको क्षेत्रमा भारत आफ्नो राष्ट्रिय ज्ञान सञ्जाल श्रीलङ्का, बङ्गलादेश, भूटान र नेपालमा बढाउन प्रतिबद्ध रहेको बताउँदै यसलाई म्यान्मा र थाइल्याण्डसम्म बढाउने इच्छा व्यक्त गरे । “म आशा गर्छु यस वर्ष अक्टोबरमा नयाँदिल्लीमा हुने ‘इण्डिया मोबाइल काङ्ग्रेस’मा तपार्इँहरु सहभागी हुनुहुनेछ”, उनले भने ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०२० अगष्टमा भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने बताउँदै सबै बिम्स्टेक सदस्य मुलुकलाई अतिथिका रुपमा सहभागी हुन निमन्त्रणासमेतगरे । उनले बङ्गालको खाडी क्षेत्रका कलासंस्कृति, सामुद्रिक कानून र अन्य विषयमा शोध गर्नका लागि नालन्दा विश्वविद्यालयमा ‘बङ्गालको खाडी अध्ययन केन्द्र’ स्थापना गरिने अवगत गराए  ।

यस क्षेत्रका सबै मुलुकको लामो इतिहास रहेको र इतिहाससँग जोडिएका पर्यटनका सम्भावनाको पूरै लाभ उठाउन पुरातात्विक सम्पदाको पुनरुत्थानमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । हिमालय र बङ्गालको खाडीसँग जोडिएको यस क्षेत्रका देशले पटक पटक प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै उनले यसमा एकार्काको साथ र सहयोगमा मानवीय सहायता तथा विपद् पुनःस्थापनाको प्रयास आवश्यक रहेकामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV