१५ भाद्र २०७५, शुक्रबार

एजेन्सी । लुका माेड्रिच यस वर्षकाे ‘युरोपियन वर्ष खेलाडी’ घोषित भएका छन् । केही समयअघि सम्पन्न विश्वकप फुटबलको फाइनलमा क्रोएसियालाई पुर्‍याउन महत्वपुर्ण योगदान दिएका मिडफिल्डर मोड्रिच क्रिस्टियानो रोनाल्डोलार्इ समेत पछि पार्दै वर्ष खेलाडी घाेषित भएका हुन् ।

रियल मड्रिडका स्टार खेलाडी मोड्रिचले अाफ्ना पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई पछि पार्दै युराेपकाे वर्ष खेलाडीकाे उपाधि जित्न सफल भएका हुन् । विगत केही वर्षदेखि लियोनेल मेसी र रोनाल्डोकाे वरिपरि घुमिरहेको साे अवार्ड यसपल्ट लुकाले आफ्नो पाेल्टाेमा पारे ।

विश्वकपमा गोल्डेन बल हात पारेका लुकाले रियल मड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिग उपाधि दिलाउन  महत्वपुर्ण भुमिका खेलेका थिए ।

युएफएद्वारा साे उपाधिका लागि अन्तिम तीनजनाको नाम सार्वजानिक गर्दादेखि नै लुका चर्चाकाे केन्द्रमा रहे । अन्तत: उनले कुल ३ सय १३ मत प्राप्त गर्दै साे उपाधि हात पारे । रोनाल्डोले उनकाे भन्दा ९० मत कम पाएका छन् ।

मतदानका लागि युरोपभरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ। पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV