१४ भाद्र २०७५, बिहीबार

खोटाङ । कक्षा–एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती–पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’

जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि केटाकेटीलाई नियन्त्रण गर्न सकिन्छ की भनेर आफ्नै दुमी राई लवजमा हर्कानुहुन्छ–‘तिम्हारलाई मार्दिन्छु है म त फेरि, चकचक नगरी बस न हन !’ तर एक कक्षाको बालबच्चा न हुन् चाला उस्तै ।

‘मलाई त झिजो हुन्दैना, म हाकारिम् दिन्छु झिजो गर्छन् भने अनि, हजुरआमा भन्छन्, बजु भन्छन् ।’ वसेर लेख्दा वच्चाहरुले हल्लाईदिने हुनाले उहाँ उभी–उभी लेख्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘गर्छन् नै डिस्टव त तर बानी भएछ अव त केई जस्तो लाग्दैन सर !’

बिक्रम सम्बत २००१ साल साउन ८ गते विहिबार जन्मनुभएको खोटाङ बाक्सिलाकी जुरीमायाँ राई २०७५ साल साउन ६ गते आईतवार कक्षा एकमा भर्ना हुनुभएको हो । केपिलासगढी गाउँपालिकामा पर्ने वाक्सिलाकी राईले लेखपढ गर्ने अधुरो धोका पूरा गर्न दिक्तेलवजारस्थित सरस्वती माविमा भर्ना हुनुभएको हो । उहाँको रोल नम्बर ३१ रहेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV