मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको छः अध्यक्ष शर्मा



प्रकाशित मिति : Aug 10, 2018

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताउनुभएको छ ।

असल शासन फाउण्डेशनले (गोगो) आज यहाँ आयोजना गरेको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा उहाँले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताउनुभयो ।

अध्यक्ष शर्माले मुठभेडमा व्यक्तिलाई गोली हानी मार्ने पद्धति न्याय विपरीत रहेको बताउँदै मानवअधिकार उल्लङ्घन हुँदा नागरिक सङ्घसंस्था चुप लागेर बस्न नहुने धारणा व्यक्त गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियाले जनता र सरकार बीचको अन्तरसम्बन्धलाई जोड्ने काम नागरिक संस्थाले गर्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेख भएका जनताका अधिकारलाई प्रदान गराउनतर्फ त्यस्ता संस्था सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहमा सुशासन प्रणाली प्रभावकारी बनाउन सरकार लागिपरेको बताउँदै उहाँले नागरिक संस्था दर्ता गर्ने सम्बन्धी कानून ल्याउन थालेको जानकारी दिनुभयो ।

फाउण्डेशनका कार्यकारी निर्देशक केदार खड्काले नेपालमा नागरिक संस्था व्यवस्थित हुन नसकेको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा विश्वका ६९ देशको नागरिक संस्थाहरुको दिगोपनको सूचकमा नेपाल दक्षिण तथा दक्षिणपूर्वी एशियाका सात देशमध्ये चौथो स्थानमा रहेकोे प्रतिवेदन सार्वजनिक गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणालीसँग मिलेर फाउण्डेशनले नेपालको नागरिक संस्थाहरुको दिगोपनको सूचक तयार पारेको हो ।

‘गोगो फाउण्डेशन अवार्ड’ पत्रकार थापालाई

यसैगरी सोही अवसरमा भ्रष्टाचारविरुद्ध लामो समयदेखि कलम चलाउँदै आउनुभएका अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई नगद रु ११ हजार १११ सहित ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ बाट सम्मान गरिएको छ ।

यसअघि उक्त सम्मान डा भगवान कोइराला र कुलमान घिसिङलाई प्रदान गरिसकेको छ । पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीको संयोजकत्वमा रहेको छनोट समितिले थापालाई अवार्ड दिने निर्णय गरेको थियो ।

सम्मानित भएपछि प्रधान सम्पादक थापाले भ्रष्टाचार विरुद्धको खोजमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com