सञ्चारमन्त्री बाँस्कोटाको दादागिरी : सम्पत्तिको स्रोत सोध्दा टेलिभिजन कार्यक्रम नै बन्द गराइदिए



प्रकाशित मिति : Jun 14, 2018

काठमाडौं । पत्रकारले सम्पत्तिको स्रोत सोध्दा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले टेलिभिजन कार्यक्रम नै बन्द गराइदिएका छन् । नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द गराएका हुन् ।

गत शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटासँगको कुराकानीमा प्रस्तोता थापाले सम्पत्ति विवरणको विषयमा प्रश्न गरेका थिए। अन्तवार्तामा चर्काचर्का प्रश्न सोधेको भन्दै मन्त्री बास्कोटाले कार्यक्रम नै बन्द गर्न निर्देशन दिएका थिए। त्यसपछि कार्यक्रम बन्द भएको हो।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आदेशमा कार्यक्रम बन्द भएको कार्यक्रम सञ्चालकले बताएका छन् । कार्यक्रममा कडा प्रश्न सोधेको भन्दै सञ्चारमन्त्री बाँस्कोटाले कार्यक्रम नै बन्द गरिदिएको कार्यक्रम संचालक राजु थापाले बताए ।

के थियो प्रश्न  ?

अघिल्लो शनिबारको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा अतिथि थिए । पत्रकार थापाले सरकारको सय दिन र मन्त्रीहरुको सम्पति विवरणका बारेमा केन्द्रीत रहेर कार्यक्रम चलाएका थिए । त्यसक्रममा थापाले कम्युनिष्ट सरकारका मन्त्रीहरुले आफ्नो सम्पति किन श्रीमतिका नाममा राख्छन् भनेर प्रश्न गरेका थिए । त्यसको प्रतिपाद मन्त्री बाँस्कोटालेगरेका थिए । कार्यक्रम सञ्चालक थापाले भने मैले उहाँले नै सार्वजनिक गरेको सम्पत्ति विवरण देखाएपछि उहाँ मसँग आक्रोशित हुनुभएको थियो त्यसको परिणामस्वरुप कार्यक्रम नै बन्द गरिदिनुभयो।’तर नेपाल टेलिभिजनबाट प्रत्येक शनिवार साँझ प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा प्रश्न’ मन्त्रीको आदेशमा बन्द भएको भन्ने खवरप्रति नेपाल टेलिभिजनले खण्डन गरेको छ ।

महासंघको आपत्ति

१२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ कार्यक्रममा सञ्चारमन्त्री बास्कोटालाई प्रश्न सोधेकै नाममा कार्यक्रम नै बन्द भएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति विज्ञप्ति निकालेर महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको हो।

‘प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सरकारले नीति तथा कार्यक्रममा आफूले सञ्चारमाध्यम सञ्चालन नगर्ने प्रतिवद्धता गरेको स्मरण गराउन चाहन्छ। लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ। सञ्चार जगतको हकहितको जिम्मेवारी लिनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने गरी भएको यस्ता कार्यले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध नरहेको देखाउँछ।’

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यो घटनाप्रति खेद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

के भन्छ नेपाल टेलिभिजन ?

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले उक्त कार्यक्रम बन्द हुनुमा मन्त्री बास्कोटाको कुनै संलग्नता नरहेको बताएका छन् । ‘नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’ महाप्रवन्धक रोकाको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com