२६ जेष्ठ २०७५, शनिबार

सुर्खेत । एक वर्षसम्म सबैले शारीरिक तन्दुरुस्ती तथा सामाजिक सुरक्षा तालिम लिनुपर्ने योजनासहित कर्णाली प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गरेको छ ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले आज प्रदेशसभामा पेश गरेको आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा १८ बर्ष पुगेका सबैले नागरिकले यस्तो तालिम लिनुपर्ने उल्लेख गरिएको हो । पाँच वर्षमा प्रतिव्यक्ति आय दुई हजार एकसय डलर र दस वर्षमा देशकै समृद्ध प्रदेश बनाउने महत्वकांक्षी लक्ष्य राखिएको नीति तथा कार्यक्रममा कर्णाली पर्यटन बृहत्तर गुरुयोजना बनाउने र पचास वटा पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।

सुर्खेतबाट जुम्ला, रारा, हुम्ला, डोल्पा, चौरजहारी, नेपालगञ्ज, धनगढी, भैरहवा र काडमाडौं हवाई उडान सुरु गर्ने प्राथमिकता लिएको प्रदेश सरकारले ‘एक घर–एक रोजगार’ कार्यक्रम सञ्चालन गरी वर्षमा एक सय दिन रोजगारी दिने नीति पनि लिएको छ । प्रविधियुक्त प्रदेश प्रहरी गठन, प्रत्येक जिल्लामा विशेषज्ञ सेवासहित ५० शैंयाको अस्पताल र विकास र समृद्धिका लागि ‘उज्यालो कर्णाली कार्यक्रम’ सञ्चालन गर्ने योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV